कालीकोटमा बाबुले घरमा आगो लगाए, दुई छोराको जलेर मृत्यु
२९ पुस, काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका नम्बर ७ दुल्लीमा बाबुले आफ्नै घरमा आगो लगाउँदा उनका दुई जना छोराको जलेर मृत्यु भएको छ ।
पारिवारिक विवादलाई लिएर बाबु भैरे बटालाले बुधबार बिहान आफ्नै घरमा आगो लगाउँदा उनका छोराहरू १२ वर्षीय छोरा गणेश बटाला र ९ वर्षीय छोरा मनवहादुर बटालाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
घरमा आगो लगाएपछि बाबु भैरेले आफूले पनि विष सेवन गरेको र कान्छो छोरा ४ वर्षीय खगेन्द्र बटालालाई पनि विष सेवन गराएको भेटिएको कालीकोटका प्रहरी प्रमुख, डीएसपी चक्रबहादुर शाहले बताए ।
डीएसपी शाहले घरमा आगो लगाउने भैरे र उनको कान्छो छोरा पनि विष सेवन गरेको अवस्थामा भेटिएकोले उनीहरूको अहिले उपचार भइरहेको बताएका छन् । उनका अनुसार बाबु भैरेले आफूसँगै छोराहरूलाई पनि विष सेवन गराएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
घटनास्थलमा कुमालगाउँ प्रहरी चौकीबाट प्रहरी खटिएको र जलेर मृत्यु भएका दुई बालकको शव पोष्टमार्टमका लागि सदरमुकाम ल्याउन लागिएको डीएसपी शाहले बताए । घटनाको बारेमा थप अनुसन्धान गर्न प्रहरी घटनास्थलमा परिचालन गरिएको उनले बताएका छन् ।