२३ जेष्ठ २०८०, मंगलवार

चार पूर्वप्रधानन्यायाधीशबारे ओलीको टिप्पणीप्रति प्रचण्ड–नेपालको आपत्ति



२६ पुस, काठमाडौं । राष्ट्रिय सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानन्यायाधिशबारे गरेको टिप्पणीप्रति प्रचण्ड–नेपाल पक्षले आपत्ति जनाएको छ ।

नेकपा प्रचण्ड–नेपाल समूहको सचिवालय बैठकले प्रधानमन्त्री केपीशर्मा ओलीले स्वतन्त्र अदालतप्रति दिइरहेका टिप्पणीको भर्त्सना गरेको हो ।

प्रतिनिधिसभा विघटनबारे संविधानमा के व्यवस्था छ भन्नेबारे पूर्व प्रधानन्यायाधीशहरूले दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री ओलीले गरेको धम्किपूर्ण टिप्पणीको भत्सना गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

पूर्वप्रधानन्यायाधीशहरू मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले शुक्रबार प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गर्दै विज्ञप्ति सार्वजनिक गरेका थिए ।

सोही विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले आजै राष्ट्रियसभामा सम्बोधन गर्दै भनेका थिए ‘केही वर्ष न्यायालयमा जागिर खानेवित्तिकै अहिले पनि आफै न्यायालयमा छु जस्तो गरी केही पूर्व न्यायमूर्तिहरूले सडकमा ओर्लिएर स्वतन्त्र न्यायालयलाई लल्कारिरहनुभएको छ, वहाँहरूले दवाव दिने मनसायले काम गरिरहनुभएको छ ।’

बैठकले सरकारी सञ्चार माध्यमहरूले कुनै गुटको प्रचारक जस्तो भूमिका निर्वाह गरेको भन्दै यस्तो कार्य बन्द गर्न माग समेत गरेको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार बैठकले पार्टीको सम्पूर्ण निकायलाई पार्टी सुदृढीकरणमा लाग्न र संघर्षका कार्यक्रमलाई प्रभावकारी रूपमा सफल पार्न निर्देशन दिएको छ ।

श्रेष्ठले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरिएकोमा आफुहरूको विरोध रहेको जानकारी दिए ।

प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री ओलीको पहिलो सम्बोधनलाई अस्वीकार गर्दै नेकपा प्रचण्ड–माधव समूहले राष्ट्रिय सभाको आइतबारको बहिस्कार गरेको छ ।

सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले भारत भ्रमणका क्रममा कुनै राजनीतिक भेटघाट नभएको स्पष्ट पारेका छन् । पत्नी सीताको उपचारका लागि भारत गएका प्रचण्ड शनिबार मात्रै स्वदेश फर्किएका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको