जेफ बेजोसलाई उछिन्दै विश्वकै धनी व्यक्ति बने एलन मस्क
२४ पुस, काठमाडौं । विश्वविख्यात अमेजन कम्पनिका मालिक जेफ बेजोसलाई उछिन्दै प्रविधि व्यवसायी एलन मस्क विश्वकै धनी व्यक्ति बनेका छन् । मिडिया रिपोर्टहरुका अनुसार टेस्ला र स्पेस एक्सका मालिक एलन मस्कको सम्पत्ति १८५ बिलियन अमेरिकी डलरभन्दा बढी पुगेपछि बेजोस पछि परेका हुन् ।
ब्लूमबर्गका अनुसार पछिल्लो समय मस्कको सम्पत्ति १३.६ बिलियन अमेरिकी डलरले बढेर १९५ बिलियन अमेरिकी डलर पुगेको छ ।
जेफ बेजोस भने १८५ बिलियन अमेरिकी डलरबराबरको सम्पत्तिसहित दोस्रो नम्बरमा रहेका छन् । बेजोस सन् २०१७ देखि लगातार धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा थिए ।
यसै वर्ष इलेक्ट्रिक कार निर्माता टेस्लाको बजार मूल्य ह्वात्तै बढेको थियो । बुधबार मात्रै यसको टेस्लाको बजार मूल्य ७ सय बिलियन अमेरिकी डलर पुगेको छ । योसँगै टेस्लाको बजार मूल्य अन्य कार निर्माता कम्पनीहरु टोयोटा, फोल्क्सवागन, ह्युन्डाई, जीएम र फोर्ड सबैको मिलाउँदा हुने भन्दा पनि बढी पुगेको छ । आफू विश्वका धनी व्यक्तिको सूचीको पहिलो नम्बरमा पुगेको समाचार सार्वजनिक भएपछि मस्कले ‘कस्तो अचम्म’ भन्दै प्रतिक्रिया दिएका छन् ।
केही समय पहिले मस्कले आफूले आधा सम्पत्ति पृथ्वीका समस्या समाधान गर्न र आधार सम्पत्ति मंगल ग्रहमा आत्मनिर्भर सहर स्थापनाका लागि खर्चने बताएका थिए । उनले कथम्कदाचित् डायनोसरजस्ता उल्का ठोक्किएर पृथ्वी तहसनहस भए वा तेस्रो विश्वयुद्धका कारण केही भएमा मानव जीवनलाई निरन्तरता दिन मंगल ग्रहमा बस्ती बसाल्ने महत्वाकांक्षी योजना उपयुक्त हुने उनले दाबी गरेका थिए ।
त्यस्तै विश्वका धनी व्यक्तिहरुको सूचीको तेस्रो नम्बरमा माइक्रोसफ्टका सञ्चालक बिल गेट्स रहेका छन् । त्यस्तै चौथो नम्बरमा फ्रान्सेली व्यवसायी बर्नाल्ड आर्नल्ट र पाँचौं नम्बरमा फेसबुकमा संस्थापक मार्क जुकरबर्ग रहेका छन् ।
स्रोतः एजेन्सिको सहयोगमा