२० जेष्ठ २०८०, शनिबार

बाटो खन्दैै गर्दा मूर्ति भेटियो, पुरातत्वले गठन गर्यो अध्ययन टोली



२४ पुस, काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ३ बतासे डाँडामा बाटो निर्माण गर्ने क्रममा केहि महिना अगाडि हेर्दा वर्षौँ पुरानो लाग्ने मुर्ति फेला परेको थियो । उक्त मूर्तिबारे अध्ययन गर्न धुलिखेल नगरपालिकाले गत भदौमा पुरातत्वलाई जानकारी गराएपछि विभागले टोली गठन गरेरै अध्ययन अगाडि बढाउने भएको छ ।

भेटिएको मूर्ति कसको हो ? कति वर्ष पुरानो हो ? त्यो ठाउँमा कसरी पुग्यो ? भन्ने विषयमा अध्ययन गर्न पुरातत्व विभागले टोली गठन गरेको हो ।

पशुपतिको वीरूपाक्षजस्तै देखिने उक्त मूर्ति किरातकालीन हुन सक्ने भन्दै धुलिखेल नगरपालिकाले पुरातत्व विभागलाई विस्तृत अध्ययनका लागि अनुरोध गरेको थियो ।

मूर्तिबारे अध्ययन गर्न टोली बनाएर अनुसन्धानमा पठाइएको र प्रतिवेदन आउन बाँकी रहेको पुरातत्व विभागका महाप्रबन्धक दामोदर गौतमले बताए । उनले भने, ‘मूर्तिबारे अध्ययन अनुसन्धान भइरहेकाले र रिपोर्ट नआएसम्म केको मूर्ति र कति वर्ष पुरानो हो भन्न सकिने अवस्था छैन ।’

मूर्ति यसरी भेटियो

धुलिखेल नगरपालिकाको चंखुबेसी मार्ग निर्माणका लागि बाटो खन्ने, सम्याउने काम भइसकेपछि ढलान गर्न ढुंगा बिच्छ्याइँदै थियो । यस क्रममा ढुंगा बाटोछेउ राखिएको थियो । एक स्थानीय त्यही बाटो हुँदै जाँदा वनदेवीथान नजिक एउटा अनौठो ढुंगा देखे । त्यसलाई नजिकै गएर सफा गर्दा पुरानो मूर्तिजस्तो देखेपछि उनले अरूलाई पनि बताए । धेरै मान्छेबाट धेरै कुरा आए पनि मूर्ति धेरै वर्ष पुरानो भन्ने सबैको साझा अड्कल थियो ।

मूर्तिको दायाँ हात काटिएको छ भने कम्मरमुनिको भाग छुट्टिएको छ । मूर्तिको पछाडि कलात्मक बुट्टा छ । स्वरूप हेर्दा वीरूपाक्षको मूर्ति हो कि भन्ने अनुमान छ, तर यकिन गर्न सम्भव नभएकाले पुरातत्वलाई जिम्मा लगाइएको धुलिखेल नगरपालिकाका मेयर अशोककुमार ब्याञ्जुले बताए ।

‘बाटो बनाउन रोशी खोलाको ढुंगाखानीबाट ल्याइएको ढुंगासँगै मूर्ति आएको रहेछ ।’ उनले भने, ‘मूर्तिको स्वरुपअनुसार विभिन्न कुरा आइरहेको छ । यो नै भन्ने पुष्टि भएको छैन ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको