दुई वर्षमा हेलिकप्टरबाट हुम्लाका २९ जना सुत्केरीको उद्धार
समर हुम्ली
२३ पुस, काठमाडौं । हेलिकप्टरबाट दुई वर्षमा हुम्लाका २९ जना सुत्केरी महिलाको उद्धार गरिएको छ । उनीहरूलाई जिल्लाभित्र र जिल्ला बाहिरका विभिन्न अस्पतालमा पुर्याएर यो सेवा उपलब्ध गराइएको हो ।
यो वर्ष मात्र १८ जना गर्भवती महिलाको हेलिकप्टरमार्फत् उद्धार गरिएको हो । पोहोर ११ जना गर्भवती महिला यो सेवाबाट लाभान्वीत भएका थिए ।
हुम्लाका गाउँ–गाउँमा सुत्केरी बेथाले दुःख पाएका महिलाहरूलाई तीनदेखि एघार दिनसम्म बेथा लागेको अवस्थामा एयरलिफ्टबाट उद्धार गरिएको स्वास्थ्य स्रोत हुम्लाले जानकारी दिएको छ ।
स्थानीय, प्रादेशिक तथा संघीय सरकारको खर्च र स्थानीय प्रशासनका कार्यालय र सम्बन्धित गाउँपालिकाको समन्वयमा हाल यो सेवा उपलब्ध हुँदै आएको छ । आवश्कयक प्राविधिक सेवा जिल्ला अस्पताल र स्वास्थ्य सेवा कार्यालय हुम्लाले गरिरहेको उक्त कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताएका छन् ।
दुई वर्षको अवधिमा सुत्केरी बेथा लागेका महिलाहरूलाई हुम्ला, जुम्ला, सुर्खेत र नेपालगञ्जमा समेत प्रसुति सेवा उपलब्ध गराई आमा र बच्चाको जीवन सुरक्षित बनाइएको छ ।