राष्ट्रपतिको मत परिणाम उल्टाउने ट्रम्पको प्रयास, १ महिलाको मृत्यु, वाशिङ्टनमा कफर्यू
२३ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लोकतान्त्रिक विधिबाट गराइएको राष्ट्रपति निर्वाचनको मत परिणाम उल्टाउने प्रयास गरेका छन् ।
ट्रम्पको उक्साहटमा राष्ट्रपति चुनाव रद्द गर्न माग गर्दै वाशिङ्टनमा सैयौँ समर्थकहरू हिंसात्मक प्रदर्शनमा उत्रिएपछि एक महिलाको मृत्यु भएको छ ।
स्थिती थप हिंसात्मक बन्ने खतरा बढेपछि राजधानी वाशिङ्टन डिसीमा कफ्र्यू लगाइएको छ ।
वाशिङ्टनस्थित संसद भवन (क्यापिटल बिल्डिङ)मा अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजलाई लिएर बहस चलिरहेको थियो । यही बहसपछि राष्ट्रपतिमा निर्वाचित जो बाइडन विजयी भएको औपचारिक र कानुनी पुष्टि गर्ने कार्यक्रम थियो । यहि कार्यक्रमलाई विथोल्ने गरी हालका राष्ट्रपति डोनाल्ड ट्रम्पका सयौं समर्थकहरू भेला भएर प्रदर्शन सुरु गरे ।
प्रदर्शनकारी क्यापिटल बिल्डिङ भित्रै प्रवेश गरे र अमेरिकी राष्ट्रपति चुनाव रद्द गर्न माग गर्न थाले । यसै क्रममा हिंसा सुरु भयो । प्रदर्शनकारीलाई रोक्ने प्रयासमा नेशनल गार्ड्स एक्सनमा उत्रियो । क्यापिटल बिल्डिङमा प्रदर्शन गर्ने एक महिलालाई गोली लाग्यो । ती महिलाको अस्पतालमा मृत्यु भयो । उनको परिचय भने खुलेको छैन ।
करिब तीन घण्टाको तोडफोड र हिंसात्मक प्रदर्शनपछि अहिले स्थिति नियन्त्रणमा रहेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।
अमेरिकामा भएको यो हिंसात्मक घटनाको चौतर्फी निन्दा भइरहेको छ । चुनावमा धाँधली भएको भन्दै ट्रम्पले विनाप्रमाण आफ्ना समर्थकलाई उक्साएको कारण हिंसा फैलिएकाले अमेरिकी लोकतन्त्र विश्वसामु लज्जित बनेको टिप्पणी भइरहेको छ ।
यस हिंसाका बीच राष्ट्रपतिमा निर्वाचिन जो बाइडनले हिंसालाई अन्त्य गर्न र संविधानको रक्षा गर्न ट्रम्पलाई अपिल गरेका छन् ।
स्रोतः एजेन्सिको सहयोगमा