शिक्षक सेवा आयोगको अध्यक्षका लागि रेग्मी सिफारिस
२३ पुस, काठमाडौं । शिक्षक सेवा आयोगको अध्यक्षको नियुक्तिका लागि सिफारिस पूर्व शिक्षासचिव मधुप्रसाद रेग्मी सिफारिसमा परेका छन् ।
यसैगरी सदस्यहरूमा डा. डिल्लीराम रिमाल र मावि शिक्षकबाट सेवानिवृत्त नन्दकुमारी महर्जन सिफारिसमा परेको शिक्षा मन्त्रालयले जनाएको छ ।
यसअघि सरकारले लोक सेवाका अध्यक्ष उमेशप्रसाद मैनाली नेतृत्वको छनोट समितिलाई शिक्षक सेवा आयोगको अध्यक्ष तथा सदस्य खुल्ला प्रतिस्पर्धाबाट छनोट गरी सिफारिस गर्न जिम्मा दिएको थियो । मैनाली नेतृत्वको समितिले सुरुमा आकांक्षीहरूबाट प्राप्त दरखास्त र अवधारणापत्रको आधारमा अध्यक्षमा ४ जना र सदस्यमा ६ जनाको संक्षिप्त सूची तयार पारेको थियो ।
उनीहरूको व्यवसायीक कार्ययोजना, अन्तर्वार्तालगायत परीक्षाबाट अध्यक्षमा रेग्मी तथा सदस्यहरूमा रिमाल र महर्जन उत्तीर्ण भएका हुन् । अब उनीहरूलाई नियुक्त गर्न शिक्षा मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्ने छ ।
एक अध्यक्ष र दुई जना सदस्य (एक महिला अनिवार्य) गरी ३ सदस्यीय शिक्षक सेवा आयोग गठन हुने प्रावधान शिक्षा ऐनमा छ । पदाधिकारीहरूको नियुक्ति ५ वर्षको लागि हुन्छ । शिक्षा ऐनमा शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदमा पुनः नियुक्ति हुने व्यवस्था छ ।