फाइजर कोरोना खोपको पहिलो डोज लिएका नेपालीलाई कोरोना सङ्क्रमण
२२ पुस, काठमाडौं । कोरोना भाइरसबाट बच्न फाइजर र बायोएनटेकको भ्याक्सिन लिएका बेलायतमा कार्यरत एक गैरआवासीय नेपालीलाई संक्रमण देखापरेको छ ।
गत ३१ डिसेम्बरमा २०२० मा कोरोनाविद्धको पहिलो डोज खोप लिएका राजेन्द्र पुडासैनीलाई सोमबार टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको हो । कोरोनालाई पराजित गर्न फाइजर र बायोएनटेकको भ्याक्सिन तीन साताका बीचमा दुई डोज लिनु पर्नेछ । तर, उनले सोमबार टेष्ट गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना संक्रमण देखिएपछि पुडासैनी आइसोलेसनमा बसेका छन् ।
कोभिडका कारण उनमा उच्च ज्वरो, टाउको दुख्ने, छाती दुख्ने र भारी हुने, आन्द्रामा स्पाइजम र सुख्खा खोकी आएको पारिवारिक स्रोतले बताएको छ ।
पुडासैनीले बेलायतमा कोभिड सङ्क्रमणको दर उच्च रहेकाले सचेत हुन उनले नेपाली समुदायलाई अनुरोध गरेका छन् । ‘फाइजरको पहिलो डोज लिइसकेको थिएँ, दोस्रो डोज लिनु पूर्व नै मलाई कोरोना संक्रमण भैसकेको रहेछ’, उनले भने, ‘यो रोग लाग्न नदिन उच्च सतर्कताको जरूरी छ । खोप लिएपछि पनि सावुन पानीले हात धुने र माक्स लगाउने कामलाई निरन्तरता दिनु होला ।’
पुडासैनी बेलायतको नेपाली समुदायका अगुवा पनि हुन् । विभिन्न सामाजिक तथा राजनीतिक गतिविधिमा आवद्ध पुडासैनी हाल प्रवासी नेपाली एकता मन्च युकेको अध्यक्षसमेत रहेका छन् ।
बेलायतले फाइजर एण्ड बायोएनटेक, अक्सफोर्ड र एस्ट्राजेनेका दुवैको खोप लगाउन सुरु गरिसकेको छ । मंगलबारसम्ममा बेलायतमा करीव १३ लाख व्यक्तिले कोरोनाको खोप लगाई सकेका छन । सरकारले आगामी सोमबारदेखि खोप पाउनेको तथ्यांक सार्वजनिक गर्ने जानकारी दिएको छ ।
यसैबीच, बेलयातमै नयाँ प्रकृतिको उच्च सङ्क्रामक कोरोना भाइरस देखिएपछि सरकारले फेरी लकडाउन घोषणा गरेको छ । कोरोनालाई जित्ने प्रयासमा मिलेको सफलताको परिणाम नआउदै कोरोनाले विश्व मानव समुदायलाई फेरी अर्को प्रश्नचिन्ह खडा गरिदिएको छ ।