हुम्लामा बीस करोडको कोदो उत्पादन
२२ पुस, हुम्ला । हुम्लामा गत आर्थिक वर्षमा बीस करोडको कोदो उत्पादन भएको छ । प्रमुख बालीको रूपमा मानिएको कोदो ८० प्रतिशत घरेलु कामका लागि प्रयोग हुने गरेको छ ।
कृषि विकास कार्यालय हुम्लाका सूचना अधिकारी धमेन्द्र अधिकारीका अनुसार गत आर्थिक वर्षमा कुल क्षेत्रफलको १२९० हेक्टर जमिनमा १४२० मेट्रिक टन कोदो उत्पादन भएको हो ।
हुम्लामा विभिन्न प्रकारका स्थानीय रैथाने बालीहरू रहेका छन् । यिनीहरूको के, कस्तो, कहाँ, कसरी, किन जस्ता विभिन्न प्रश्नहरूको खोजी र जानकारी गाउँदेखि केन्द्रसम्म हुन नसकेको स्थानीयस्तरमा कार्यरत सरकारी तथा गैह्रसरकारी संस्थाहरूको मत छ ।
कोदो हुम्लाको लागि एक खाद्यान्न बाली मात्र नभएर खानपानदेखि विभिन्न प्रकारका औषधीको रूपमा प्रयोग हुने गरेको सिमकोट गाउँपालिका वडा नम्बर ४ का छिरिंग लामाले बताए ।
कोदो एक अन्नबाली मात्र नभएर ग्रेनथेरापी पनि हो । यसलाई घरेलु मदिराको मुख्य स्रोत मानिएको छ । हुम्लामा हुने गरेका स्थानीय अन्नबालीहरूको खोजी नीति गर्दा कोदोलाई पनि महत्वपूर्ण अन्नबालीको रूपमा सूचीकरण गर्नु गराउनु आवश्यक छ ।