१५ मंसिर २०७८, बुधबार

पानीबाट सञ्चार गर्ने हुम्लाको स्याँडा गाउँ



समर हुम्ली

हुम्लामा मान्ने गरिएका अनेकौं प्रचलनमध्ये स्याँडा गाउँमा पानीबाट सञ्चार गर्ने एक अनौठो चलन रहेको छ । यसलाई गाउँहरूको विशेष अधिकार भन्ने गरिन्छ । ब्याँसीजातिको लागि भुओ औैंसी एक अति महत्वपूर्ण पर्व हो । यो दिनमा गाउँको रेखठेक, थीतिबन्द, बालीनालीको हेरचाहको व्यवस्था, धारापानी, चरनखर्क, माँडुको व्यवस्था तथा गाउँको सामाजिक, आर्थिक तथा अन्य कुराहरूको लेखाजोखा र लेनदन गर्ने गरिन्छ । यसलाई व्यवस्थित बनाउन गाउँको मुख्यधारा मान्होरा अर्थात् बालीचौकीदार बसेर पानीबन्द गरेर गाउँको खेरो (सभा) बस्ने गरिन्छ ।

सिमकोट गाउँपालिकाको वडा नम्बर ८ मा पर्ने स्याँडा गाउँमा विशेषतः ब्याँसीजातिहरूको बसोबास रहेको छ । यो गाउँ अरू गाउँभन्दा फरक छ । अरु गाउँहरूमा पूर्णिमाको धेरै महत्व छ । तर यो गाउँमा औंशीलाई धेरै महत्वका साथ मान्ने चलन रहिआएको छ । यहाँका ब्याँसीजाातिहरू उत्तर र दक्षिणबाट आई यहाँबसोबास गरेका छन् । यिनीहरूको नयाँवर्ष पुस महिनाको भुओ औंसीबाट शुरु हुन्छ । यो दिनलाई अति महत्वका साथ लिने गरिन्छ । आफ्नो पितृपुर्खाको सतगत गर्न गराउन, नयाँ कामको शुरुवातगर्न, गाउँको रेखठेक अर्थात् थीतिबन्द गर्नकय लागि पनि यो दिनलाई नै रोज्ने र खोज्ने गरिएको छ ।

पुसे औंसी विशेषतः हुम्ली जनजातिहरूको लागि अति महत्वपूर्ण छ । किनकी उनीहरूको नयाँ वर्ष पुस महिनामा पर्ने ल्होसार, भुओ, सीमेभुँमे तथा अन्य चाडपर्वहरूबाट शुरु गरिन्छ । हुम्लामा बसोवास गर्ने खशान र जडानमुलका बासिन्दाहरूसँग संसर्ग भएर नयाँ जातिको रूपमा विकास भएको ब्याँसी जाति हो कि भन्ने अनुमान गर्न सकिन्छ । यो जातिले मान्ने विभिन्न प्रकारका चाडपर्व, संस्कार, भाषा, धर्म, परम्परा तथा लवाई–खवाई पनि मिश्रित छ ।

हुम्लामा रहेका २ सय गाउँहरूमध्ये करीब ५० गाउँहरूमा ब्याँसीजातिको बसोबास रहेको छ । यी सबै ब्याँसीगाउँहरू भन्दा फरक, अनौठो, अचम्म र पृथक गाउँ हो स्याँडा । यहाँ बस्ने ब्याँसीहरूले पुुसको भुओ औँसी, फागुनको चैतलो पर्व मान्ने औँसी, चैत्र वैशाखको स्ह गुम्बा पुज्ने औँसी र भदौको चोखे औँसीलाई अति महत्वका साथ मान्ने गरेका छन् । यी औँसीमा पुसबाट शुरु भएर भदौमा अन्त्य हुने गरेको छ ।

हुम्लामा रहेका २ सय गाउँहरूमध्ये करीब ५० गाउँहरूमा ब्याँसीजातिको बसोबास रहेको छ । यी सबै ब्याँसीगाउँहरू भन्दा फरक, अनौठो, अचम्म र पृथक गाउँ हो स्याँडा । यहाँ बस्ने ब्याँसीहरूले पुुसको भुओ औँसी, फागुनको चैतलो पर्व मान्ने औँसी, चैत्र वैशाखको स्ह गुम्बा पुज्ने औँसी र भदौको चोखे औँसीलाई अति महत्वका साथ मान्ने गरेका छन् । यी औँसीमा पुसबाट शुरु भएर भदौमा अन्त्य हुने गरेको छ ।

हुम्लाका विभिन्न गाउँहरूमा स्याँडा गाउँ एक हो । यो गाउँमा बुढा र रोकाया छन् । यिनीहरू एकै जात लेखे पनि बुढाले बुढालाई र रोकायाले रोकायालाई गोत्र फरक भएका कारण बिहेवारी गर्ने चलन रहेको छ । विशेषतः फुपुचेला चेली नातामा बिहेवारी र परिहास नाता (ख्यालठट्टा गर्ने मान्यता)ले राम्रो स्थान पाएकाले पनि यौनका कुरा अन्य क्षेत्री समाज भन्दा खुकुलो रहेको छ । मामाचेला फुपुचेलीलाई सम्धी (भिना) र सम्धीनी (साली) नामले सम्बोधन गर्ने चलन रहेको छ । यसैले पनि यो समाजमा बालबिवाह परम्पराको एक अभिन्न अंग बनेको छ ।

यो गाउँका स्थानीयहरूले साँता, चडी, रा, गुम्बा, दुर्पा, पाल्स, बारीगाउँ तथा अन्यगाउँहरूमा विवाह गर्ने चलन भएपनि धेरै विवाह गाउँघरमा नै गर्ने चलन रहेको छ । कोही कसैको राम्रो नराम्रो कामपनि सकभर भुओ औँसीमा नै छिनोफानो गर्ने चलन रहेको छ ।

यो गाउँको जनघनत्व धेरै भएका कारण स्थानीय समुदायको आयस्तर अरुभन्दा कमजोर भएकाले छिमेकी गाउँमा श्रम बेच्ने एक गाउँ पनि हो । अल्पकालीन तथा दीर्घकालीन श्रमका लागि यहाँका बालबालिका तथा वयस्क अन्य गाउँमा गएर घरकय लागि आर्थिक उपार्र्जनको काम पनि गर्ने गरेका छन् ।

हुम्लालाई कोही कसैले पकेट क्षेत्रको रूपमा विकास विस्तारका लागि खोज्ने र रोज्ने हो भने स्याँडालाई लसुन गाउँभन्दा फरक पर्दैन । यो गाउँको लसुन खेतीले हुम्लालगायत तिब्बतसम्म पनि नाम र दाम कमाएको छ । यो यहाँको पुख्र्यौली सम्पत्ती र निधि पनि हो । यसकय अलवा आलु, फापर, चिनु, कागुनो, जौ, उवा, गहुँ, कोदो पनि मुख्यबालीको रूपमा लिन सकिन्छ ।
यहाँको मुल देवता हिल्सा हो । यसलाई बालीनाली, वर्षा र सहकालको देवताको रुपमालिने गरिन्छ । यसका साथै अन्य विभिन्न प्रकारकय खशान र जडानमुलक देवी–देवता पनि रहेका छन् । पछिल्लो समय केही मात्रामा शिक्षा, स्वास्थ्य र अन्य कुरामा सुधार आउने प्रयास गरिए पनि यसका लागि धेरै समय र श्रम खर्च गर्नु पर्ने देखिन्छ ।

यो गाउँलाई पर्यापर्यटन र सांस्कृतिक पर्यटनका लागि पनि उपयोग गर्न सकिने सम्भावना धेरै रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको