लोडशेडिङको पूर्वतयारी: जेनेरेटरमा आयातमा ३०० प्रतिशत वृद्धि
२२ पुस, काठमाडौं । पछिल्लो समय देशका विभिन्न ठाउँमा झ्याप्पझ्याप्प बिजुली काटिने समस्या बढ्दै गएपछि सम्भावित लोडशेडिङको पूर्वतयारीस्वरूप जेनेरेटरको आयातमा ह्वात्तै वृद्धि भएको छ ।
भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्कले अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो ५ महीनामा साढे ३ सय प्रतिशतले जेनेरेटरको आयात बढेको देखाएको छ ।
भन्सारबाट अघिल्लो वर्ष १५४ थान जेनेरेटर भित्रिएकोमा चालू आर्थिक वर्षको पहिलो ५ महीनामा कुल ७०७ थान जेनेरेटर भित्रिएका छन् । यो जेनेरेटर आयात संख्या अघिल्लो वर्षको भन्दा ३ सय ५९ प्रतिशतले बढी हो ।
यो अवधिमा ब्याट्रीको आयात पनि ७७ प्रतिशतले वृद्धि भएको छ । यद्यपि, इन्भर्टरको आयात भने घटेको देखिन्छ । अघिल्लो वर्ष इन्भर्टरको आयात ५६ थानबाट घटेर ५० थानमा पुगेकोमा यस वर्ष २९ थान मात्र इन्भर्टर आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
विभागका महानिर्देशक सुमन दाहालले पनि तथ्यांकअनुसार जेनेरेटरको आयात बढेको बताएका छन् ।