उपत्यकामा डरलाग्दो वायु प्रदुषण : वातावरण विभागले भन्यो, ‘बालबालिका, ज्येष्ठ नागरिक र रोगी घर बाहिर ननिस्किनुस्’
२१ पुस, काठमाडौं । वातावरण विभागले पुस २० गतेदेखि मौसममा आएको बदलावसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक बढेको बताएको छ । विभागले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटु सम्बन्धी रोगका बिरामीलाई सकेसम्म घरबाहिर ननिस्किन आग्रह गरेको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै विभागले स्वस्थ व्यक्तिलाई घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन भनेको छ ।
विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उपत्यकामा बिहान र बेलुकीको समयमा प्रदुषण अत्यधिक बढेको पाइएको छ । यसबाट तपाईं हाम्रो स्वास्थ्यमा नकरात्मक असर पर्न सक्दछ ।’
नेपालगञ्ज, विराटनगर लगायतका क्षेत्रमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको पाइएको उल्लेख गर्दै तराई क्षेत्रका नागरिकलाई पनि विशेष सतर्कता अपनाउन विभागले विज्ञप्तिमार्फत भनेको छ ।
विभागले फोहोर र आगो बाल्दा पनि वायु प्रदूषण बढ्ने भएकाले त्यस्तो नगर्न पनि सुझाएको छ । भनिएको छ, वायु प्रदूषण मौसममा पनि भर पर्ने भएकाले मौसम यस्तै भइरहेमा केही दिनसम्म प्रदुषण यस्तै रही रहने अथवा अझै खराब हुनसक्ने सम्भावना भएकाले विशेष सावधानी अपनाउन विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्ति हेर्नुहोस् :
