५ आश्विन २०८०, शुक्रबार

कञ्चनपुरका १८ वर्षीय किशोरलाई भारतीय भूमिमा गोली हानियो



२० पुस, काठमाडौं । रोजगारीका लागि भारतमा गएका एक १८ वर्षीय नेपाली युवामाथि नेपाल फर्कदै गर्दा गोली चलाइएको छ ।

कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका वडा नम्बर १ का १८ वर्षीय नरेश सुनारमाथि नेपाल–भारतको सीमा कुदियाकबर भन्दा पाँच सय मिटर भित्र भारतीय भूमिमा गोली चलाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी मुकुन्द मरासनीले सोमबार साँझ गोली लागेर १८ वर्षीय सुनार घाइते भएको जानकारी दिए । मरासनीका अनुसार घाइते सुनारको दाहिने खुट्टामा गोलीको छर्रा लागेको छ ।

गोली कसले चलाएको हो भन्ने कुरा भने नखुलेको बताउदै उनले भने, ‘सीमा क्षेत्र नजिकै गोली लागेको हो’ उनले भने, ‘एसएसबी र वन रक्षकको संयुक्त गस्ती टोली यस क्षेत्रमा घुमिरहन्छ, कसले गोली चलायो अनुसन्धान भइरहेको छ ।’

घाइतेको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । ‘उहाँ अहिले नेपाल आइसक्नुभएको छ र हामीले उहाँलाई उपचारका लागि महाकाली अञ्चल अस्पतालमा पठाउन लागेका छौं’, एसपी मरासनीले भने ।

प्रहरीका अनुसार रोजगारीका लागि गएका सुनार भारतबाट स्वदेश फर्किरहेका थिए । घटनाका सन्दर्भमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको