बाइबाई तीज : कोरोना कहर र तीजको नौलो वहस

दियार/रारापाटी डेस्क
८ भाद्र २०७७, सोमबार
दियार/रारापाटी डेस्क
धार्मिक रूपमा, सांस्कृतिक रूपमा, अझ भनौं परम्परागत रूपमा नेपाली हिन्दू नारीहरूले परापूर्वकालदेखि मनाउदै आएको पर्व हो हरितालिका तीज । पुरूषहरूको लगभग शुन्य सहभागिता रहने यो पर्वको रोचक पक्ष के छ भने विवाहित महिलाहरू आफ्नो श्रीमान्को स्वस्थ जीवन र दिर्घायूको लागि व्रत बस्छन् भने अविवाहित महिलाहरू आफ्नो मनले चिताए जस्तै बर पाइयोस् भन्ने कामना गरेर व्रत बस्छन् । यद्यपी महिलाहरू तीजमा व्रत बस्दा पुरूषको आयु बढ्छ, बढ्दैन, सोचेजस्तो श्रीमान् पाइन्छ, पाइदैन त्यो समिक्षाको विषय हुनसक्ला । तर एउटा महिलाले आफ्नो श्रीमान् जसको लागि उनले सिङ्गो जीवन समर्पण गरेकी हुन्छीन् उसैको दिर्घायूको कामना गर्दै निराहार व्रत बस्नुलाई पक्कैपनि अन्यथा बुझ्नु हुँदैन । धर्म, संस्कृति, आस्था र सामाजिक मूल्य मान्यताकै कारण समाज एउटा लयमा चलेको हुन्छ । महिलाप्रति पुरुषको दायित्व र सहभागिताको विषय भने छलफल हुनु पर्दछ ।
तीज पर्व महिलाहरूले कहिलेदेखि मनाउन थाले भन्ने सन्दर्भमा ठ्याक्कै मिति नै नभेटिए पनि भाद्र शुक्ल तृतियाको दिनदेखि तीज मनाउन थालेको हिन्दू धार्मिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ । ग्रन्थमा भनिएको छ, ‘राजा हिमालयले आफ्नी छोरी पार्वतीको विवाह भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन परेन । त्यसपछि उनले आफुले मन पराएको वर पाउन वनवास गएर शिवजीको तपस्या गर्न थालिन । तपस्या सुरू गरेको सय वर्ष पुरा भइसक्दा पनि मनले चिताएको फल नपाएपछि शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रत बस्न थालिन् पार्वती । कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आर्शिवाद दिएपछि शिव र पार्वती विवाह बन्धनमा बाँधिन पुगे । त्यो भाद्र शुक्ल तृतियाको दिन थियो । सोही दिनलाई हिन्दू नारीहरूले उत्सवका रूपमा मनाउन थाले ।’ त्यहि उत्सवको दिनलाई तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि नै चल्दै आएको धार्मिक विश्वास छ ।
चाहे भाषा होस् धर्म, चाहे पहिरन होस या संस्कृति सबै सबैमा पश्चिमा संस्कृतिको प्रभाव थपिँदो छ । त्यसको प्रभाव वर्षेनी आउने तीजमा मजैले देख्न पाइन्छ । कोरोना महामारीका कारण भएको लकडाउन र गत सातादेखि लागु भएको निषेधाज्ञाका कारण यसपाली महिलाहरूले खुलेर तीज मनाउन पाएनन् । त्यसैले होला तीजको नाममा हुने तडक–भडकहरू, मदिराको बलियो उपस्थिति सहितका भोज भतेर त्यति सार्वजनिक भएनन् । घरभित्रै के–के भए त्यो त शिवजीलाई नै थाहा होला । पर्वको नाममा भाँडभैलो मच्चाउनेहरूलाई कस्तो सजाय दिने त्यसको फैसला पनि शिवजीले नै गर्नुहोला ।
केहि छिटफुट महिलाहरू पशुपतिको बन्द ढोकामा गएर दर्शन गरिरहेका तस्वीरहरू पनि देखिए । निश्चित घेराभित्र रहि सामाजिक दूरी कायम गेरेर नाचेका रमाइला भिडियोहरू पनि यदाकदा सामाजिक सञ्जालमा देखिए । जे होस् यसपालीको तीज कोरोना महामारी र निषेधाज्ञाको चेपुवामा पर्न गएको बारे हामी सबै जानकार छौं ।
व्रत बाहेक तीजमा महिलाहरू नाचगान गरेर रमाइलो गर्ने, सुख–दुःख साटासाट गर्ने भएकाले यसपाली बेनेका तीज गीतहरूको प्रसङ्ग पनि रमाइलो छ । एकतर्फ पुरूषहरूले तीज गीत गाएर, सारी लगाएर ढुक्कैसँग नाचेका गीतहरू देखिए । अर्कोतर्फ एउटा अमुक महिला गायिकाले नै तीजको ठाडो विरोध गरिएको गीत सार्वजनिक गरिन् । गीतको शब्द र भिडियोलाई लिएर हिन्दूवादी संगठनहरूले विज्ञप्ति नै जारी गरी कडा विरोध जनाए । गीतलाई लिएर महिला अधिकारकर्मीदेखि, विभिन्न तह र तप्काबाट चरम विरोध भएपछि अन्ततः गीत युट्वबाट हटाइयो ।
गीतको केही हरफहरू यस्ता थिए,
अबको तीज नो व्रत प्लीज
नो खुट्टाको पानी
रङ्गीविरङ्गी चुरा र साडी गहनाको भारी
गुडिया जस्तै सजिएर नखाने दर हामी ।।
गीतको भाव बुझ्दा ती गायिकालाई व्रत पनि नबस्ने, दर पनि नखाने, सारी, चुरा, गहना केहि पनि नलाएर मनाउनु पर्ने तीज चाहिएको छ । तीजको धार्मिक मर्म र आस्थामाथि उनले विद्रोह बोलेकी छिन् । उनी यसमा रेडिकल फेमिनिस्ट भएर उत्रिएकी छिन् । के उनको विद्रोह योगमाया जस्तै कुनै मान्यतामा आधारित नारीको विद्रोह हो ? या युट्युबे पुँजीवाद मा जसरी पनि चर्चा पाएर (पपुलिस्ट) मनग्य आम्दानी कमाउने चाल हो ? के उनका कतिपय गीतका शब्दले तीजको विकृती सच्चिन एउटा डिस्कोर्स ल्याउन मद्दत गर्न सक्दछ ? के यसले तीजलाई कुनैपनि सामाजिक मान्यता विनाको विशुद्ध डिस्को डान्स जस्तो बनाउला ? यो गीतको पक्षमा बाबुराम भट्टराइदेखि, गगन थापा, रविन्द्र मिश्र लगायतका नेताहरूले आफ्ना धारणा लेखे ।
तर जनताको चर्काे विरोध, दवावकै कारण सम्बन्धित च्यानलले भिडियो युट्युवबाट हटाएपछि गीतको पक्षमा टिप्पणी लेख्ने नेतागण पनि विवादको घेरामा तानिन पुग्यो । गायिका पनि हराइन्् । यसमाथि एउटा विशुद्ध सामाजिक वहस भने चलेन ।
तीजमा महिला मुक्तिका गीतहरू वापपन्थीहरूले गाउँदै आएका थिए तर त्यस्ता गीतहरू अहिले गाउन छाडिएका छन् । धर्म संस्कृतिका नाममा महिला माथि हुने विभेदमा समानता खोज्नु अन्यथा होइन । किनकि विभिन्न धर्म संस्कृतिमा महिलालाई दास र दोश्रो दर्जाको नागरिकका रूपमा पनि हेरिएको छ । उनीहरू माथि चरम शोषण भएको छ ।
तर धर्म संस्कतिमा भएका सबै कुराहरू गलत हुँदैनन् र छैनन् पनि । शिवजीसँग जोडेर केही रेडिकल महिलाले पुरूष पुजामात्र किन ? भन्ने प्रश्न गरेका होलान् सायद । तर हिन्दू संस्कृतिमा भाइ–वहिनी, बुबा–आमा सबैलाई कुनै न कुनै हिसाबले पुज्ने चलन छ । यसले आपसी सम्बन्ध बलियो बनाउँछ र यो सामाजिक सम्पत्ति पनि हो । रेडिकल महिलावादीले महिलाको पुजा किन नहुने भन्ने प्रश्न र केही उग्र पुरुषवादीले हामी किन बिचबिचमा नाच्न नपाउने भन्ने विषय दुई ध्रुवकृत विचारहरू हुन् । सामाजिक वहस हुनु अन्यथा होइन । तर यो सामाजिक संश्लेषणको दिशामा जानु पर्दछ । वाद प्रतिवादबाट सम्वाद निस्किनु पर्दछ । यो नै समाज विकासको डाइलेक्टिक्स हो ।
हाम्रो सामाजिक मान्यतामा महिलालाई पुज्ने चलन त सबैभन्दा बढी छ । महिलालाई देवीका रूपमा हेरिन्छ । वेद र महाभारतमा महिलाहरू शक्तिशाली र पुजनीय छन् । वास्तवमा देवी पुजा भनेको महिला शक्तिको पुजा हो ।
स्वयम् शिवजीले सतिदेवीको स्वाभिमान रक्षाका लागि आफ्ना ससुरा दक्ष प्रजापतिको टाउको काटेको कथा हामी स्वस्थानीमा पढ्न पाउछौं । सतिदेवीको शवलाई बोकेर शिव सारा हिमालय क्षेत्र घुमे र सतिदेवीका धामहरू शक्तिपीठ मानिए । के यो महिला प्रतिको असम्मान हो र ? शिवजीलाई हेर्दा महिलाले पुरुषका लागि मात्र पुज्ने भन्ने कुरा साँचो होइन बरु पुरुषले पनि महिलाका लागि त्याग गर्न सक्छन् । यसो गरिएमा कुनै अन्यथा हुँदैन । यी साँचा कथा होलान् या केवल विश्वास प्रणाली मात्र, तर हाम्रो धर्म संस्कृतिको सामाजिक विज्ञानसम्मत विश्लेषण आवश्यक छ ।
रेडिकल फेमिनिस्टको भावनाबाट जाँदा आम महिलाका अधिकारको आन्दोलन कमजोर हुने खतरा पनि हुन्छ । किनकी महिला आन्दोलन बलियो बनाउन उनीहरूले बढीभन्दा बढी पुरुषहरूको सहयोग लिन सक्नुपर्दछ । पछिल्ला बेलामा चर्चामा आउन र युट्युवमार्फत् पैसा कमाउन सस्ता गीतहरू बजारमा ल्याउने चलन चलेको छ । यसमा प्रगतिशिल, सामाजिक, सांस्कृतिक रूपान्तरणको ध्येयभन्दा पुँजीवादको नग्न प्रभाव बढि देखिन्छ ।
फेरी यो तीजमा निकै मिठा गीत र भिडियोहरू पनि नआएका होइनन् । प्रतिनिधिमूलक रूपमा भन्दा खेम सेञ्चुरी र मधु क्षेत्रिले गाएको ‘सोचेझै जिन्दगी रैनछ’ भन्ने गीत निक्कै रूचाइएको गीत हो । यस बीचमा बिभिन्न ठाउँमा पुग्दा यो गीत बजिरहेको सुनिन्थ्यो । कोरोना महामारीका कारण मन मारेर बस्नुपर्र्यो दिल खोलेर रमाइलो गर्न पाइएन, सोचझै जिन्दगी रैनछ भन्ने गीतको भाव अहिले चलिरहेको समयसँग मिल्दाजुल्दा छन् । समाजको भौतिक परिस्थितिले कसरी साहित्य र गीतको सिर्जना र विकास हुन्छ भन्ने कुरा यसले प्रष्ट पार्दछ । यसकारण पनि गीत आम रूपमा रूचाइएको हुनसक्छ ।
व्रत बस्ने हिन्दू संस्कारको मान्यता विज्ञानसम्मत छ । व्रत बस्नु हामी सजाय जस्तो मान्छौं । वास्तवमा महिला व्रत बसेर श्रीमान्को आयु बढाउने होइन आफ्नै आयु बढाउने कुरा हो । शरीरलाई डिटक्सिफाइ (विष रहित) गर्ने कुरा हो । अहिले फास्टिङका दशौं मोडलहरू छन् । इन्टरमिडिएट व्रतदेखि कडा पानी पनि नखाएर केही दिन बस्ने व्रत । पश्चिमा विश्वविद्यालयमा यसको फाइदाबारे थुप्रै अध्ययनहरू भएका छन् । सामाजिक विवादका रूपमा हामी महिलाले मात्र किन व्रत बस्ने भन्नुभन्दा पनि पुरुषले पनि महिलाका लागि किन व्रत बस्न नहुने भन्ने ठाउँमा नेपाली समाज पुग्यो यो एक राम्रो छलफल हुनेछ । अझ महिला र पुरुष सँगसँगै व्रत बस्न किन नहुने भन्ने कुराले झन् सकारात्मक अर्थ राख्दछ । व्रत बस्न नसक्ने चाहे महिला हुन् या पुरुष (स्वास्थ्यका कारण पनि यसो हुन्छ) कम्तिमा तीज अवधीमा घरको काममा सघाउन सक्छन् । यसो गर्दा पुरुष र महिला दुबैका लागि स्वास्थ्य लाभ नै हुन्छ । अझ महिनाको एक पटक श्रीमान् श्रीमती सँगै व्रत बस्न सक्दा झनै राम्रो ।
तीजलाई गरगहना झकिझकाउ सम्पन्न नारीहरूको सहरिया भद्दा पुँजीवादी प्रहसनमा परिणत हुनबाट बचाउन आवश्यक छ । एक महिनादेखि तीजका नाममा मोजमस्ती मात्र गर्ने डरलाग्दो संस्कृतिले श्रम मान्यतालाई पथभ्रष्ट गरिदिन्छ । यसले आम गरिखाने महिलालाई झन कमजोर बनाउँछ । दैनिक श्रममा बाँचेका महिलाहरूका लागि त उनीहरूको हृदयमा यसले कठोर वर्र्गीय विभेदको करौतीले रेट्दछ मात्र । यस्तो संस्कृति समाज विकासका लागि अवरोधयुक्त हुन्छ ।
तीजसँग काम र मनोरञ्जनको ग्रामिण जीवनको सन्तुलित विज्ञानसम्मत मान्यता जोडिएको छ । जेठको धुपमा बाली थन्काउने, असारमा खेती लगाउने चटारो, श्रावणमा गोडमेल र अझ खाद्य सङ्कट भोग्दछन् किसानहरू । झनै ग्रामिण नारीहरू घर परिवार सम्हाल्नेदेखि कृषि कर्मको दोहोरो चपेटामा हुन्छिन् । तीजले उनीहरूलाई मानसिक र शारीरिक ब्रेक दिन्छ जसरी लगातार चलिरहेको मेसिनलाई पनि आरामको जरुरी हुन्छ । एउटा लामो थकाई पछि माइतिघरमा दिदिबहिनी भेट्दाको आनन्द कल्पना गर्नुस् त ! ग्रामिण महिलाहरू तीजको फुर्सद लिन चौपायाँका लागि घाँस, पात, दाना र घरका लागि चामल पिठो एक हप्ता अगिदेखि नै जोहो गर्ने गर्दछन् । केहि दिनको आरामका लागि अझ थप श्रम गर्दछन् ।
तीजको महिला जनजीवनसँग जोडिएको एउटा सुन्दर गहिरो आर्थिक सामाजिक विज्ञान छ । त्यसैले तीज महिला विरोधी या पुरुष पुजन पर्व र मान्यताका रूपमा प्रस्तुत गर्नु गलत हुन्छ । यसलाइ वर पाउने चाडका रूपमा मात्र बुझ्नु पनि गलत हो । काम पछिको थकान विर्साउन भेटघाट, आराम र मनोरञ्जनको मान्यताले पनि यसलाई लोकप्रिय बनाएको हो ।
हेक्का रहोस् हिमालयन क्षेत्रको धर्म संस्कृति भारतीय उपमहादिपमा देखिएका कट्टरता र असहिष्णुताभन्दा लिवरल र भिन्न छ । हाम्रो दशै या दुर्गा पुजा भारतमा गरिने दुर्गा पुजा भन्दा नितान्त फरक र उन्नत छ । हामी दही टिका जमरा र घरको ठुलावडाको आशिर्वाद लिन्छौं । हाम्रो तिहार फरक छ । भारतमा दिपावली मात्र मनाइन्छ । हामीकहाँ म पुजादेखि भाइटिका र फुलमाला लगाउने चलन छ । भनिन्छ पशुपतिनाथको एउटा मुख बुद्धको छ । वास्तवमा हाम्रा पुर्खाले बुद्ध धर्म र हिन्दू धर्मको सम्मिलनको सहिष्णु मोडल तयार गरेका थिए ।
हामीले हिन्दू राजाको दरवार नजिकै मस्जिद पनि चलाउन दिएका थियौं । स्वस्थानी व्रतकथाका ६०० भन्दा बढी भर्सनहरूको वैज्ञानिक अध्ययन गरेकी अमेरिकी अध्यता जेसिका भेन्तिन नेपालमा प्रचलित स्वस्थानी महिला स्वतन्त्रताको महत्वपूर्ण दस्तावेज थियो र यो कसरी पछि भारतीय स्वस्थानीको प्रभावबाट महिलालाई नै कुज्याउन परिवर्तित भयो भन्ने रोचक अध्ययन गरेकी छिन् । उनको ठम्याइ अनुसार नेपालमा विकास भएको सक्कली स्वस्थानीको भाव नै तोडमोड गरियो ।
हिमालय क्षेत्रमा विकास भएका सांस्कृतिक मौलिकताहरू यहाँका जनताले समयसापेक्ष विकास गरेका हुन् । यिनका राम्रा पक्ष जोगाउँदै अझ समुन्नत बनाउँदै जानु हामी सबैको कर्तव्य हो ।
तीजमा पनि हाम्रो आफ्नै मौलिकता छ । यसलाई अझ समुन्नत, वैज्ञानिक, सामाजिक र विभेदरहित बनाउने दायित्व पनि हाम्रै हो ।
व्रत बस्दिन, बिच बिचमा नाच्छु, पोइल जान पाम् गितले तीजमा तताउने बजार कोरोना कहरले सेलाएको छ । सायद आउने वर्ष कुनै रचनात्मक कलाकारले सँगै गाऔं, सँगै नाचौं, सँगै व्रत बसौं जस्तो भावको गीत ल्याइदिए तीज संस्कृतिमा नयाँ आयाम थपिन गई अझ समुन्नत हुन्थ्यो होला । यसो गर्दा व्यक्ति र समाज सबैको स्वाथ्यलाभ हुनेछ ।
आशा गरौं यसपाली मन मारेर तीज मनाएका नेपाली नारीहरू कोरोना महामारीलाई जितेको हर्षाेल्लासका साथ अर्काे सालको तीज दिल खोलेर मनाउनेछन् । लक्ष्मी समान महिला मात्र होइन पुरुष समेत व्रत बसेर सबै नेपालीहरूले आफ्नो आयु लम्ब्याउनेछन् । हामी कोरोनालाई जितेर छिट्टै सामान्य जनजिवनमा फर्किनेछौं ।