हिउँ : हुम्ली संस्कृति र प्रकृतिको अनौठो संगम
समर हुम्ली
२० पुस, हुम्ला । प्राकृतिक तथा सांस्कृतिक रूपमा पनि हिउँलाई हुम्लाको संरक्षक, चौकीदार, रक्षक, सिंचाइको मुख्य स्रोत, वनस्पतिको थर्मोमिटर तथा हाइड्रोथेरापीको मुलतत्वमा निएको छ । यसकारण पनि हिउँ एक प्राकृतिक सुन्दरताको आभा पनि मानिदैं आएको छ । यसकार पनि हुम्लाको संस्कृतिमा हिउँ एक अपरिहार्य निधि र विधि पनि हो ।

भारी हिमपातसँगै अब हुम्लाभरी नै खेतीपातीका लागि पानीको अभाब पूर्ति हुने भएकाले हिउँदमा लगाएको बालीनाली फस्टाउने भएको छ । जब पुस महिनमा राम्रो हिँउ पर्छ, त्यो हिउँले आगामी वर्षको बालीनालीको भविष्यवाणी हुने बरगाउँका जेष्ठ नागरिक छिरिंग लामाको अनुभव छ । उनले भने, ‘हिउँपर्दा धेरै राम्रो हुन्छ । यसबाट हाम्रा वनजङ्गल, खोलानाला तथा अन्य प्राकृतिक निधिको रक्षा हुनुका साथै गाउँघरमा पनि दैवीक प्रकोप कमगर्न सहयोग पुग्छ ।

माथिको लोकसुसेलीको भावार्थले दिएको सन्देश जस्तै हुम्लाको समष्टिगत कृषि कर्मकय लागि हिउँको धेरै ठूलो सहयोग र भूमिका रहेको छ । यहाँ हिउँलाई एक साधन मात्र नभएर साध्यको समष्टिगत रूप मानिदै आएको छ । यसैले पनि हिउँ हुम्लाको लागि एक अनिवार्य र अपरिहार्य वस्तु भएकाले हिउँदमा कम्तीमा पनि पाँच–दश फिट हिउँ पर्नु अति राम्रो र शुभ संकेत मानिदै आएको हुम्ला रीपगाउँका अगुवा जसबहादुर महताराको मत छ ।

लामो समयसम्म हिउँ नपर्दा चिन्तीत भएका हुम्लीहरू पुसको १९ गते आइतबार दिनमा हिउँ पर्दा खुशीभएका छन् । यो हिउँले हुम्लामा चल्दै आएको पुसको हिउँशिला, माघको हिउँ बिला, फागुनको हिउँ टिलाफिला र चैत्रको हिउँ फात्फुत भन्ने लोकसुसेलीलाई सम्बोधन गर्न सफल भएको छ ।
यो हिउँदमा हिउँ नआउँदा स्थानीयबासीहरू चिन्तित भएको अवस्थामा पुसको महिनामा हिउँ आउनु शुभ संकेत मानिएको छ । यसले कृषि, वन, वातावरण तथा सामाजिक जनजीवनमा सकरात्मक प्रभाव पार्ने ठेहे गाउँका शिक्षक सूर्यमणि वोहराले बताए ।

भदौ महिनादेखि पानी नपर्दा यहाँको खोलानालामा पानिको सतह घट्नुका साथै खेतीपातीमा पनि पानीको अभाव भएको थियो । गाउँघरकय पाखापखेराहरूमा पनि खडेरी पर्दा सानाठूला आगलागी भएर वनजंगल नष्ट हुँदै गएको थियो । यो हिउँ प्राकृतिक सन्तुलन कायम गर्न सफल भएको छ ।
पछिल्लो समय मानवीय तथा प्राकृतिकजन्य विभिन्न प्रकोपका कारण दिनप्रतिदिन जलवायु परिवर्तनको समस्या झेलिरहेको अवस्थामा हिउँ नपर्दा विभिन्नप्रकार रोगव्याधीले ठाउँ पाइरहेका बेला क्षणिक समस्या भएपनि हिउँको दीर्घकालीन फाइदालाई हेर्दा हुम्लीहरू खुशी छन् ।

पानी कै अभावले सिमकोट नेपालको एक अँध्यारो सदरमुकाम बन्ने सम्भावनालाई केही मात्रामा भएपनि कम गराउने स्थानीय सामाजिक कार्यकर्ता पदमराज हमालको आशा छ ।
हुम्ला जिल्लामा अझै पनि गाउँघरमा कति दाब्लो अर्थात् फिट हिउँ पर्छ । त्यहीअनुसार हिउँदको बालीजौ, गहुँ, उवा र नाफलको नापो गरिन्छ भने त्यसैको आधारमा वर्षामापाक्ने बालीको पनि भविष्यवाणी गर्ने चलन रहेको छ ।
हिउँ पर्दा केही समयका लागि बजारउन्मुख क्षेत्रमा धारामा पानी जम्ने, चिसो बढ्ने, बत्ती जाने जस्ता सामान्य समस्या पनि देखिएका छन् । तर यी मानवीय कमजोरीलाई भूगोलमैत्री बनाउनका लागि विशिष्टीकृत योजना बनाउनु पर्ने पूर्वाधार विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख देबी ऐडीको भनाई छ ।
हिउँले कृषि, वन, वातावरण, सिंचाई, रोगब्याधी जस्ता कुराहरूलाई स्वतस्फुर्त रूपमा न्युनिकरण गर्न सहयोगी भूमिका खेलेको हुन्छ । हिउँ एक जलउपचार पद्धतिको मुख्य स्रोत हो भने जडिबुटीहरूका लागि पनि मुल तत्व हो । हामी सबैले प्रकृतिलाई बचाऔं । जल संस्कृतिको संरक्षण गरौं । आफु पनि बाँचौं र प्रकृतिलाई पनि संरक्षण गरौं । समष्टिगत रूपमा हिउँ पर्दा हुम्ली किसानहरू खुशी भएका छन् ।