१६ श्रावण २०७८, शनिबार

विद्यालय खोल्ने सरकारको निर्णय, जीमखाना र सिनेमा हल पनि खुला



१९ पुस, काठमाडौं । सरकारले कोरोना महामारीका कारण विगत ९ महिनादेखि बन्द शैक्षिक संस्था र मनोरञ्जनका क्षेत्रहरू खोल्ने निर्णय गरेको छ ।

कोभिड रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी) को आइतबार बसेको बैठकले विद्यालय लगायतका सबै क्षेत्रहरू सञ्चालन गर्न दिने निर्णय निर्णय गरेको हो ।

हालका लागि विद्यालय र मनोरञ्जनका क्षेत्रहरु खोल्न दिने निर्णय भएता पनि कोरोनाको दोस्रो लहरको जोखिम देखिएमा जिल्ला तहबाटै बन्द गर्न सकिने सीसीसीएमसीको निर्णयमा उल्लेख छ ।

सीसीएमसीको निर्णय मन्त्रिपरिषद बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने भएकाले विद्यालयहरु सञ्चालनमा आउन केही दिन लाग्न सक्छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंका अनुसार कोरोनाको स्थिति भयावह बन्ने अवस्था देखिएमा तत्कालै बन्द गर्न पाउने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई सबै क्षेत्रहरू खुल्ला गर्ने निर्णय गरिएको छ ।

वि. सं. २०७६ चेतदेखि विद्यालयहरू सञ्चालनमा नआउँदा घरका चार भित्तामा सिमित लाखौं बालबालिकाहरू ढिलै भएपनि शैक्षिक गतिविधिमा फर्किन पाउने भएका छन् ।

अब बस्ने मन्त्रिपरिषद बैठकले अनुमोदन गरेपछि सीसीएमसीले गरेको निर्णय कार्यान्वयनमा आउने छ ।

सीसीएमसीको बैठकका निर्णयहरू सुनाउँदै प्रधानमन्त्री कार्यालयका सचिव गुरागाईंले भने, ‘नेपाल सरकारको पूर्वनिर्णयअनुसार रोक लगाइएका सबै क्षेत्रहरू हाललाई खुला गर्ने निर्णय भएको छ । यी क्षेत्रहरु खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको छ ।’

कोभिडको संक्रमण कम भएको, बजारमा भिडभाड बढेको र आवागमन बढेको अवस्थामा नयाँ कोरोना भाइरसको संक्रमणको प्रवेश भएमा दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्डको पालना भएनभएको सम्बन्धमा नियमित अनुगमन गरिने गुरागाईंले बताए । र, यसमा लापरवाही गर्नेलाई कारवाही गर्ने निर्णय भएको पनि सचिव गुरागाईंले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु