भारतले दियो दुई कोरोना भ्याक्सिनलाई अनुमति
१९ पुस, काठमाडौं । भारतले कोरोनाभाइरस विरूद्धका दुई खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार सामाजिक सञ्जालमार्फत् दुई कम्पनीका खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको जनाएका छन् ।
सिरम इन्स्चिट्युड अफ इन्डियाको ‘कोभिसिल्ड’ र भारत बायोटेकको ‘कोभ्याक्सिन’ खोपलाई अनुमति दिएको हो।
सिरमले अक्सफोर्ड विश्वाविद्यालय र अस्ट्राजेन्काले बनाएको भ्याक्सिनलाई भारतमा कोभिसिल्ड नाममा उत्पादन गर्न लागेको हो। गत सातामात्र बेलायतले पनि सोही खोपलाई आम प्रयोगका लागि अनुमति दिएको थियो।
केही समयअघि सार्वजनिक भएका विवरणहरूले कोरोनाविरूद्ध यो खोपको प्रभावकारिता ७०.४ प्रतिशत रहेको बताएका थिए।
सेरम संसारकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी हो। उसले अहिले नै अक्सफोर्ड/अस्ट्राजेन्का खोपको ५ करोड डोज बनाइसकेको छ। सेरमले यो खोप भारत सरकारलाई प्रति डोज २ सय ५० र निजी क्षेत्रलाई १ हजार भारूमा बेच्न लागेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।
भारत बायोटेकले बनाएको कोभ्याक्सिनको प्रभावकारिताबारे भने विस्तृत विवरणहरू सार्वजनिक भइसकेका छैनन् ।
भारतले आगामी ६ महिनामा झन्डै ३० करोड मानिसलाई कोरोना भ्याक्सिन दिने बताएको छ। भारतमा अहिलेसम्म एक करोड बढी मानिसलाई कोरोना संक्रमण भएको छ भने डेढ लाखले ज्यान गुमाएका छन् ।
स्रोत : एजेन्सी