२१ जेष्ठ २०८०, आईतवार

मोहन वैद्य ‘किरण’द्वारा कम्युनिष्ट नेता हर्कबहादुर शाहीको स्मृति ग्रन्थ विमोचन



१८ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले दिवंगत कम्युनिष्ट नेता हर्कबहादुर शाहीको स्मृति ग्रन्थ विमोचन गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान (सिद्धिचरण हल) कमलादीमा शनिबार आयोजित एक कार्यक्रमका बिच वैद्यले स्मृति ग्रन्थको विमोचन गरेका हुन् ।

विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव वैद्यले हर्कबहादुर शाही जिवनको अन्तिम घडिसम्म पनि नयाँ जनवाद, जनगणतन्त्र र वैज्ञानिक समाजवाद र परिवर्तनको पक्षमा उभिएको सच्चा क्रान्तिकारी योद्धा भएको बताए । उनले भने, ‘उहाँले मृत्युशैयामा हुँदा पनि आफ्ना दुःख पिडाहरू सुनाउनु भएन । उहाँ क्रान्ति, वैज्ञानिक समाजवाद, देश र जनताकै विषयमा चासो राख्नुहुन्थ्यो, चिन्ता गर्नुहन्थ्यो ।’

देशको पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा उनले डबल नेकपाको आन्तरिक कलह र आरोप–प्रत्यारोपले कम्युनिष्ट आन्दोलनमाथि नै प्रश्न चिन्ह खडा भएको बताए । नेपालमा संसदीय व्यवस्थाको औचित्य नभएको बताउदै उनले भने, ‘हामीले संसदीय व्यवस्थाको पनरावृत्तिका लागि जनयुद्ध गरेका थिएनौँ । यसकारण संसद विघटन हुँदा कुनै आकाश खसेको छैन । त्यहि व्यवस्थाका लागि गरिने चुनावको पनि अर्थ नहुने भएकाले अब देशमा वैकल्पिक व्यवस्थाको स्थापनाका लागि सच्चा कम्युनिष्टहरू एकढिक्का हुनु जरूरी छ ।’ परिवर्तनका विभिन्न आन्दोलनमा थुप्रै योद्धाहरूले बलिदानी दिएकाले समस्याको समाधान नभएसम्म क्रान्ति नरोकिने वैद्यले बताए ।

महासचिव वैद्यले नेता हर्कबहादुर शाहीका इच्छा, आशा र अभिलाशाहरू परिवर्तनसँग जोडिएकाले उनले देखाएको बाटोमा हिँड्न सकियो भने त्यो नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जलि हुने बताए ।

स्मृति ग्रन्थको बारेमा समालोचना गर्दै कृष्ण सेन ‘इच्छुक’ साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणी दुःखीले नेता शाहीका बारेमा पुस्तकमा समाहित विभिन्न लेख रचनाले उहाँको व्यक्तित्वको चित्रण गरेको बताए । उनले भने, ‘सबैले लेखेका स्मरणहरू र स्वयम नेता शाहीले लेखेका लेख रचनाहरू पढ्दा उहाँ व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर जनताको स्वार्थ र सेवामा बढि केन्द्रित भएको पाएँ ।’

स्मृति ग्रन्थ विमोचन कार्यक्रमका विशेष अतिथि नेकपा (क्रान्तिकारी माओवादी) देशभक्त जनगाणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले दुई–चार वर्ष कम्युनिष्ट हुने मान्छे धेरै भएपनि आजिवन कम्युनिष्ट रहेका नेता शाहीको क्रान्तिकारी सोचाई र बुझाइमा कहिल्यै विचलन नआएको बताए ।

ग्रन्थको समालोचना गर्दै राष्ट्रिय समाचार समितिका अध्यक्ष, वरिष्ठ साहित्यकार तथा लेखक हरिहर अधिकारी ‘श्यामल’ले पस्तकमा नेता शाहीको जिवनका धेरै पाटाहरू समेटिए पनि कतिपय विषयवस्तु दोहोरिएको टिप्पणी गरे ।

दिवंगत कम्युनिष्ट नेता शाहीलाई २०३० सालमा चिनेको बताउदै श्यामलले भने, ‘नेता शाही जोखिम मोल्नसक्ने, एक्लै पनि सङ्घर्षको मैदानमा होमिन सक्ने निडर व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले निष्ठा र सिद्धान्तका विपरित आफुलाई कहिल्यै कमजोर ठान्नु भएन ।’

कार्यक्रमका विशेष अतिथि नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य गणेश शाहले कर्णाली जस्तो विकट तथा पिछडिएको भूगोलबाट कम्युनिष्ट आन्दोलनमा होमिएका शाहीमा भित्रैदेखि क्रान्तिकारी भावना थियो भन्ने सहजै बुझ्न सकिने बताए । उनले भने, ‘जव जव कम्युनिष्ट आन्दोलनमा विचलन आउन खोज्छ तब नेता शाहीजस्तो निष्ठावान नेताको बारेमा लेखिएको यो स्मृति ग्रन्थ पठनीय दस्तावेज बन्नेछ ।’

कार्यक्रमका विशेष अतिथि पूर्व कानुनमन्त्री एवम् नेता शाहीका समकक्षि प्रेमबहादुर सिंहले हर्कबहादुर शाही स्मृति फाउण्डेशनले राजा महाराजाको इतिहास लेखिने विरासतलाई क्रमभङ्ग गर्दै जनताको इतिहास र क्रान्तिको इतिहासलाई लिपिवद्ध गरेकोमा बधाई ज्ञापन गरे । नेता शाही निष्ठालाई जिवनभर अविचलित राखेर विदा भएको बताउदै सिंहले भने, ‘वि.सं. २०३५ सालमा म २४ वर्ष र उहाँ ३२ वर्षको हुँदा कालिकोटको डिल्लीकोटमा पहिलो पटक हाम्रो भेट भएको थियो । त्यसपछि हामी राजनीतिक सहकार्यमा जुट्यौँ ।’ उनले राजनीतिक परिवर्तनका विभिन्न इतिहासमा नेता शाही महत्वपूर्ण पात्र भएको बताए ।

नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी कमिटि सदस्य रामसिंह श्रीसले विमोचन कार्यक्रमको अध्यक्षता गरेका थिए । हर्कबहादुर शाही स्मृति फाउण्डेशनका अध्यक्ष दिपक बहादुर शाहीले कार्यक्रम सञ्चालन र जिविसका पूर्व उपसभापति एवम् हर्कबहादुर शाही स्मृति फाउण्डेशनका सदस्य सुर्य बहादुर शाहीले स्वागत मन्तव्य राखेका थिए ।

त्यस्तै कार्यक्रममा विशेष अतिथिको रूपमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषीराम कट्टेल, नेकपा (क्रान्तिकारी माओवादी)का प्रवक्ता हरिभक्त कँडेल, अतिथिको रूपमा पूर्व सांसद लक्ष्मि पोख्रेल, पूर्व सांसद नरबहादुर हमाल, प्रगतिशिल साहित्यकार एवम् हर्कबहादुर शाही स्मृति प्रतिष्ठानका उपाध्यक्ष डा. मधुसूदन गिरी, प्रगतिशिल साहित्यकार नरेन्द्रजङ्ग पिटर र राष्ट्रिय जनमोर्चाका कर्णाली प्रदेश अध्यक्ष भरत शाहीलगायतको उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको