स्वर्गको टुक्रा : हुम्लाको प्रसिद्ध तिर्थस्थल खार्पुनाथ संरक्षणको पर्खाइमा !
समर हुम्ली
१८ पुस, हुम्ला । हुम्लाको एक प्रसिद्ध शिव गुफा खार्पुनाथ वरपर विकासे काम र अन्य व्यक्तिगत प्रयोगका कामहरू बढ्दा उक्त क्षेत्र अतिक्रमित हुँदै गएको छ । अतिक्रमण बढ्दा ऐतिहासिक र पुरातात्वीक महत्वको तिर्थस्थलको अस्तित्व खतरामा पर्ने चिन्ता बढ्न थालेको छ ।
स्थानीय अगुवाहरूको भनाई र विभिन्न साहित्यिक तथा लोकसाहित्यका कुराहरूलाई केलाउँदा हुम्लाको एक अति महत्वपूर्ण शिव गुफा दिनप्रति दिन कुरूप र अतिक्रमित हुँदै गएको छ । जसका कारण तिर्थस्थलको महिमा, गरिमा र अरुणिमामा खतरा उत्पन्न आफु चिन्तित भएको खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ का पुरोहित जगन्नाथ उपाध्यायले बताए ।
‘यो हाम्रो खार्पुनाथ तिर्थ अति पुरानो हो ।’ उनले भने, ‘यस तिर्थस्थल हिमालमा बस्ने देवाधीदेव महादेवसँग जोडिएको छ । खार्पनाथसँग हामीहरूको जन्म–मरणको साँइनो गाँसिएकाले यसको संरक्षण र प्रचार गर्नुपर्ने आवश्यकता देखिएको छ ।’
खार्पुनाथमा रहेको यो अनमोल सम्पदाको काखमा एक दर्जन गाउँको मसाघाट छ । यो हिन्दुहरूको एक पबित्र तिर्थस्थल हो । यो जलउपचार पद्धतिका लागि प्राकृतिक तातोपानीको कुण्डहरूको स्रोत हो । यहाँ वरपर विभिन्न प्रकारका जीवजन्तुहरूकय आकृति कुँदिएका छन् । जसलाई मौलिक रूपबाट संकलन र अभिलेखीकरण गरेर प्रकाशनमा ल्याउन सकेमा शैव सम्प्रदायको लागि नयाँ खोज हुन सक्ने खर्पेल गाउँका वयवृद्ध जीतबहादुर शाहीको अनुभव छ ।
कैलास पर्वतबाट शिव मृग भएर यहाँ विचरण गरिरहेको अवस्थामा पार्वती पनि मृगीनी भएर खार अर्थात् नुनिलो वस्तु खोज्दै आएको ठाउँ हुनाले यसको नाउँ खार्पु रहेको स्थानीय बताउछन् ।
पछिल्लो समय विकासका लागि सडक र अन्य भौतिक पूर्वाधार तयार गर्दा धार्मिक स्थलको अस्तित्वलाई ध्यान नदिएर जथाभावी खन्दा गर्दा यो गुफा वरपर भूक्षय हुने डर बढ्दै गएपछि माँजा गाउँका गोकुल शाही पनि चिन्तित छन् ।
यहाँ माघे संक्रान्तिका दिनमा ठूलो पर्व लाग्ने गर्दछ । रातभरी खर्पेल गाउँ र याँचु गाउँका स्थानीयहरूले विभिन्न प्रकारका मौलिक तथा प्रथाजन्य लोकसुस्केरा गाएर खार्पुनाथको प्रस्तुती गाइने गरिएको खर्पेल गाउँका स्थानीय प्रकाशबहादुर शाहीले बताए ।
यहाँका स्थानीयहरूले यो तिर्थस्थलको जग्गा अनाधिकृत रूपमा हडपेर जग्गा नाँसमाँस गर्न लागेका प्रति स्थानीयहरू सचेत भएर खबरदारी गर्नु जरूरी छ ।
देवपुरी हुम्लो भन्ने उखानलाई आधार मानेर यसको खोज, अध्ययन, संरक्षण, प्रवद्र्धन, विकास र प्रचार–प्रसार गर्न सकेमा खार्पुनाथ धार्मिक पर्यटनको लोभलाग्दो गन्तव्य बन्नेमा दुइमत छैन ।