ओली समूहको राजनीतिक उपस्थिति रुझेको विरालो सरह छः प्रकाश ज्वाला
१८ पुस, सल्यान । नेकपा केन्द्रीय सदस्य प्रकाश ज्वालाले सल्यानमा ओली समूहको राजनीतिक अस्तित्व रूझेको बिरालो जस्तै भएको बताएका छन् । प्रचण्ड–नेपाल समुहको बनगाड कुपिण्डेमा प्रशिक्षणत्माक भेलामा शुक्रबार नेता ज्वालाले सल्यान जिल्लामा पार्टी आफ्नो समुहको पक्षमा कब्जा भएको दाबी गरेका हुन् ।
नेता ज्वालाले ५ प्रतिशत केही व्यक्तिहरू ओली समूहमा रहे पनि ९५ प्रतिशतको हिस्सा आफ्नो समूहमा रहेको बताए । प्रचण्ड-नेपाल समुहको अगुवा कार्यकर्ता प्रशिक्षण भेलामा उपस्थित सयौं कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले भने, ‘जनताको वहुदलिय जनवादलाई केपी शर्मा ओलिले लत्याएका छन्, कालो दाग लगाएका छन् ।’ हालसम्म पार्टीका गतिविधि शुन्य, भेला, बैठक, जनवर्गीय संगठनका गतिविधि सबै ओली नेतृत्वले ध्वस्त पारेको समेत उनको आरोप छ ।
पुनः एमाले बनाउन खोज्नु, हल्ला फिजाउनु भनेको पश्चगामि सोच रहेको उनले बताए । राष्ट्रपति भण्डारीले १ सेकेन्डमै संसद विघटनको अध्यादेश प्रमाणिकरण गरेको जनाउँदै दुवैले आफ्नो राजनीति भविष्य अन्धकार वनाएको ज्वालाको तर्क थियो । उनले भने, ‘१ सेकेन्डमै उक्त अध्यादेश राष्ट्रपतिले पास गर्दा राष्ट्रपति समेत देशको अहित हुने काममा मुछिएको प्रष्ट भएको छ । देश स्थायी शान्ति,समृद्धि र विकासको लयमा अगाडि बढ्दै गर्दा जनता माथिको घोर अपमान, धोका तथा प्रतिगामी खेल रचिएको छ ।’
नेता ज्वालाले बनगाड क्षेत्रको पार्टी एक ढिक्का भएर अघि वढ्न, गुट र फुटबाट भ्रमित नहुन समेत उनले कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले कहिँ कसैले सत्ताको दुरूपयोग नगर्न र जनताको अतिआवश्यक कामकाजमा सहजता प्रदान गर्न आग्रह गरे ।
ओलीको असंवैधानिक कदमकाविरूद्ध देशका ७७ वटै जिल्लामा भएका विशाल प्रदर्शनले प्रचण्ड–नेपाल समूहको शक्ति समेत छर्लङ्ग भएको उनले बताए । दुईतिहाइ केन्द्रीय सदस्य प्रचण्ड–नेपाल समुहमै रहेकाले पार्टीको आधिकारीकता र सुर्य चिन्ह आफुहरूको पक्षमा हुने नेता ज्वालाले बताए । उनले बाटो विराएका तमाम शुभचिन्तकलाई आफ्नो टिममा लाग्न उद्घोषसमेत गरेका छन् ।