१९ फाल्गुन २०७७, बुधबार

नेकपा फुटको कारण ओली नै हुन्, प्रचण्ड पक्षको आन्दोलनमा समर्थन छ : मोहनविक्रम सिंह



१७ पुस, काठमाडौं । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेताहरूको अन्तरकलहका कारण फुटेको बताएका छन् । राजनीतिक र संवैधानिक कारणले नेकपा नफुटेको बताउदै सिंहले आफुहरूले पार्टी एक ढिक्का बनाउन धेरै पहल र जोड दिएपनि प्रयास असफल भएको बताए ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री सिंहले नेकपा फुटको असर नेकपालाई मात्रै नभएर सिंगो देशलाई पर्ने टिप्पणी गरेका छन् । नेकपा अराजनीतिक प्रकारले फुटेको बताउदै सिंहले यसको पहिलो कारण संसद विघटन भएको जिकिर गरे । उनले भने, ‘कोरोनाले मुलुकलाई दीर्घकालिन असर पारेको बेला र राष्ट्रियतामाथि गम्भीर संकट आएको बेला, नेकपा फुट्नु दुःखद् छ ।’

उनले नेकपा फूटको प्रमुख कारण वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै भएको पनि दाबी गरे । ओलीले विधि र प्रक्रियालाई आत्मसत नगरेको, बहुमत र अल्पमत पनि ओलीले नअपनाएको सिंहले आरोप लगाए ।

प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेका कारण आफ्नो पार्टीले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको स्पष्ट पार्दै सिंहले सरकारविरुद्ध आन्दोलनसमेत शुरु गरिएको बताए । उनले भने, ‘हाम्रो शक्ति सानो छ, तर विचार र नीति भने स्पष्ट छ । सरकारविरुद्ध प्रचण्ड पक्ष, नागरिक समाजले शुरु गरेका आन्दोलनमा हाम्रो समर्थन हुन्छ ।’

उनले ओली सरकार जनताको शक्तिको अघि धेरै दिन नटिक्ने दाबी गर्दै भने, ‘ओली सरकार जनताको शक्तिसामू पराजित हुनेछ । प्रतिगमनकारी शक्ति अवश्य पराजित हुन्छन् ।’

आफूलाई काम गर्न दिइएन भन्ने प्रधानमन्त्री ओलीको दाबीमा कुनै सत्यता नभएको पनि सिंहले बताए । उनले भने, ‘ओली सरकारले काम गर्न नसक्नुको कारण उसको नीति नै गलत छ । उसको कार्यनीति नै प्रष्ट छैन’ मुलुकमा चलेको अहिलेको प्रतिगमनको हावाको पछाडि ओली नै मुख्य दोषी रहेको सिंहको आरोप छ ।

नेपालमा जतिपनि संकट आएका छन्, ती सबै संकटलाई आफूहरुले पार लगाएको बताउदै सिंहले अहिलेको स्थितिबाट मुलुकलाई पार लगाउन सकिने विश्वास दिलाए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु