१९ जेष्ठ २०८०, शुक्रबार

क्रान्तिकारी योद्धा हर्कबहादुर शाहीको स्मृतिग्रन्थ विमोचन हुँदै



१७ पुस, काठमाडौं । न्यायपूर्ण र समतामूलक समाज निर्माणका लागि आफ्नो जीवनलाई सम्पूर्ण रूपमा समर्पित गरेका पश्चिम नेपालका अग्रणी कम्युनिस्ट नेता स्वर्गिय हर्कबहादुर शाहीको स्मृतिग्रन्थ विमोचन हुने भएको छ ।

हर्कबहादुर शाही स्मृति फाउण्डेशन र नेकपा (क्रान्तिकारी माओवादी) द्वारा संयुक्त रूपमा प्रकाशित स्मृतिग्रन्थ नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले विमोचन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका अध्यक्ष दिपक बहादुर शाहीले बताएका छन् ।

‘भोली पुष १८ गते शनिबार ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान (सिद्धिचरण हल) कमलादीमा स्मृति ग्रन्थको विमोचन गरिनेछ ।’ शाहीले भने, ‘राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’, नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य प्रा.डा. जगदिशचन्द्र भण्डारीले स्मृतिग्रन्थमाथि समालोचना गर्नुहुनेछ ।’

‘एक अथक कम्युनिस्ट क्रान्तिकारी योद्धा कमरेड हर्कबहादुर शाही ‘दिनेश’ स्मृतिग्रन्थ’ नाम दिइएको ३०८ पेजको पुस्तकमा दिवंगत नेता शाहीको व्यक्तित्वका विविध पाटाहरूसम्बन्धी ५३ जना विभिन्न व्यक्तित्वहरूको लेख रचनाहरू समेटिएको छ । यसका अलावा नेता शाहीका केहि पुराना महत्वपूर्ण लेख रचनाहरू पनि ग्रन्थमा समेटिएका छन् ।

साविकको चामुण्डा गाविस वडा नम्बर ५ हालको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नम्बर ४ को बुडेलीमा जन्मीएका हर्कबहादुर शाहीको २०७५ चैत्र २६ गते निधन भएको थियो । सालिन, इमान्दार र जनप्रिय नेताको रूपमा पश्चिम नेपालमा परिचित व्यक्तित्व शाही वि.सं. २०२४ बाट नेपाल कम्युनिस्ट आन्दोलनमा प्रवेश गरेका उनले करिब पाँच दशकभन्दा लामो समयसम्म राजनीतिक तथा सामाजिक रूपान्तरणको अभियानमा योगदान पुर्याएका थिए ।

पछिल्लो समय मालेमावाद/विचारधाराप्रति प्रतिवद्ध भई वामपन्थी राजनीतिमा सङ्लग्न भएर आमूल परिवर्तनका लागि सक्रिय शाहीले पञ्चायती निरङ्कुश शासनका समयमा पटक–पटक जेलनेलसमेत समेत भोगेका थिए । उनले न्यायपूर्ण समाज निर्माणका लागि सङ्घर्षका विभिन्न प्रक्रियाहरूमा तत्कालिन नेपाल मजदुर किसान संगठन हुँदै तत्कालिन नकेपा (माओवादी) को केन्द्रीय भूमिकामा रहि काम गरेका थिए । जीवनको पछिल्लो कालखण्डमा उनी नेकपा (क्रान्तिकारी माओवादी) को पोलिटव्यूरो सदस्यको जिम्मेवारीमा थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको