१४ फाल्गुन २०७७, शुक्रबार

ग्रीनहाउसको तरकारीबाट २५ लाख आम्दानी



समर हुम्ली

१५ पुस, हुम्ला । सिमकोट र खार्पुनाथ गाउँपालिकामा निर्माण गरिएका ग्रीनहाउनबाट उत्पादित मौसमी र बेमौसमी तरकारीबाट हुम्ली किसानहरू लाखौँ रकम आम्दानी गर्न सफल भएका छन् । यसबाट उनीहरू कृषि कर्मलाई व्यवसायिक बनाउन हौसिएका छन् ।

सिमकोट र खार्पुृनाथ गाउँपालिकामा सहकारीमा आवद्ध भएका हुम्ली किसानहरूलाई वितरण गरिएका विभिन्न आकार–प्रकारका ग्रीनहाउसबाट उत्पादन गरिएका तरकारीहरू सिमकोट बजार र गाउँका विभिन्न ससाना बजारउन्मुख ठाउँमा बिक्री गरेर मनग्य आम्दानी गर्न सफल भएको असल छिमेकी नेपालका कृषि प्राविधिक जंग बहादुर शाहीले जानकारी दिए ।

‘हामीले ग्रीनहाउसको प्लाष्टिक, विभिन्न प्रकारका अत्यावश्यक औजार तथा बीउबीजन उपलब्ध गराएका छौं ।’ शाहीले भने, ‘यसका साथै प्राविधिक सल्लाह, सहयोग र नियमित अनुगमन गरेकाले किसानहरू राम्रो आम्दानी लिन सफल भएका छन् ।

सिमकोटको पञ्चमुखी, ठेहे गाउँको मस्टादेव र छिप्राको दुधकुण्ड सहकारीमा आवद्ध भएका किसानहरूले मौसमी र बेमौसमी तरकारीबाट वार्षिक चार लाखसम्म आम्दानी गर्न सफल भएका छन् । त्यसैका एक उदाहरण किसान हुन् शेरबहादुर रावल । उनले गत वर्ष ग्रीनहाउसबाट मात्रै तीन लाख नगद आम्दानी गरेका छन् ।

हालसम्म असल छिमेकी नेपाल र स्नो ल्याण्ड एकीकृत विकास केन्द्र हुम्लाको साझेदारीमा सञ्चालनमा आएको यो कृषि परियोजनाले १२ फिट गुणा १८ फिटदेखि ४० फिट गुणा ६० फिटसम्म विभिन्न आकारप्रकारका एक सय १० थान ग्रीन हाउस किसानहरूलाई वितरण गरिसकेको कृषि प्राविधिक शाहीले बताए ।

हाल यी तीन सहकारीहरूमा सात सयभन्दा धेरै सदस्यहरू आवद्ध रहेका छन् । कृषि र तरकारीबाट आम्दानी भएको रकम घर खर्च चलाएर पनि केही रकम सहकारीमा जम्मा भएकाले पनि सहकारीको बचत उल्लेख्य मात्रामा वृद्धि भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु