९ आश्विन २०८०, मंगलवार

उखुको पैसा उठाउन काठमाडौं आएका कृषक यादव लास बनेर घर फर्किए



१५ पुस, काठमाडौं । उखुको पैसा असुल गर्छु भनेर उखु किसानहरूको आन्दोलनमा सहभागी हुन काठमाडौं आएका नारायणराय यादव (भगत)को हृदयघातका कारण निधन भएको छ ।

बक्यौता रकम भुक्तानी नपाइकनै सरकार र आन्दोलनकारी बीच सम्झौता भयो भन्ने खवर सुनेपछि उखुकै भरमा १९ जनाको परिवार पाल्दै आएका ६५ वर्षीय यादवलाई हृदयघात भएको बताइएको छ ।

यादवले विभिन्न बैंकबाट लिएको ऋण २५ लाख रूपैयाँ पुगिसकेको थियो । उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्राका अनुसार यादवले पछिल्लो तिन वषैदेखि अन्नपूर्ण चिनी मिलबाट २० लाख बढि रूपैयाँ लिन बाँकी थियो ।

पोहोर सालको जाडोमा उखु किसानहरूले काठमाडौंमा गरेको आन्दोलनमा यादव सहभागि हुन सकेका थिएनन् । पोहोरको आन्दोलन पछि सरकार र चिनी मिलबीच किसानको पैसा चुुक्ता गर्ने सहमति भएपनि चिनी मिलले सहमतिअनुसार किसानको पैसा दिएनन् । सरकारले पनि प्रभावकारी कदम चाल्न नसक्दा फेरी निरास भएका उखु किसानहरू यो जाडोमा पनि सिंहदरवारको ढोका ढकढक्याउन काठामाडौं आइपुगे ।

तिनै उखु कृषकहरूको समूहमा आफ्नो पसिनाको मूल्य पाउने ठुलो आशा बोकेर यो कठ्याङ्ग्रीने जाडोमा आन्दोलन गर्न काठमाडौं आएका थिए ६५ वर्षीय नारायणराय यादव ।

मंसिर ३० देखि पुष १३ गतेसम्म उखु किसानहरूसँग माइतिघरमा ब्यानर लिएर बसेका यादवलाई पुस १४ गते स्वास फेर्न गाह्रो भएपछि चावहिलस्थित हेल्पिङ हुयान्ड्स अस्पताल लगियो । हेल्पिङ हुयान्ड्सले हृदयघात भएको भन्दै तत्काल गंगालल लग्न सिफारिस गर्यो । तर ९ बजे गंगालल पर्याइएका यादवलाई केहिबेरमै अस्पताले मृत घोषणा गरेको आन्दोलनमा संयोजक राकेश मिश्राले जानकारी दिए ।

उखुको पैसा उठाएर बैंकको ऋण तिर्छु, १९ जनाको परिवारका समस्या टार्छु भनेर काठमाडौं आएका यादव अन्ततः लास बनेर घर फर्किएका छन् । उनका छोरा सियाराम यादवले भने, ‘बुवा यसपाली आन्दोलन गर्न म पनि काठमाडौं जान्छु । त्यति गरे त पैसा पाइएला नी भनेर हिँड्नुभएको थियो ।’

बुवाको निधनको खबर पाएपछि मंगलबारै काठमाडौं आइपुगेका सियारामले भारी मनले भने, ‘फसलको मूलय लिन आउनुभएको थियो । सरकारले हाम्रो पैसा उठाइदिने जिम्मा लिएको भए ऋण लिन पर्थेन । बुवा ऋणकै पिरले जानुभयो ।’

घरमूली बुवाको निधनपछि अब सम्पूर्ण ऋण, ६० वर्षीया आमासहित १८ जना परिवारको सम्पूर्ण जिम्मा सियारामको काँधमा आइलागेको छ । उनले फेरी भने, ‘हामीले ऋण गरीगरी खेती लगायौं । पसिनाको मूल्य भने उठाउन गाह्रो भयो । आन्दोलनमा गएर पैसा लिएर घर आउछु भन्नुभएको बुवाको शव लिएर जाँदैछु ।’

सरकारले पोहोरजस्तो बेइमानी नगरेर यसपाली २१ दिनभित्रै उखु किसनको पैसा उठाइदियो भने त सियारामले परिवारका समस्या र लाखौंको ऋण जसोतसो पार लगाउलान । तर २१ दिन भित्र पैसा पाइएन भने न उनका बुवाको आत्माले शान्ति पाउनेछ न त सियारामले नै चैनको स्वास फेर्न पाउनेछन् ।

कुर्सीको खुट्टा तानातान नै सर्वेसर्वा ठानिरहेका प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारबाट जनताले गरेको अपेक्षा यहि हो त ?


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको