बेलायतबाट नेपाल आएका ५ जनामा कोरोना सङ्क्रमण पुष्टि
१३ पुस, काठमाडौं । बेलायतमा उच्च सङ्क्रामक प्रकृतिको कोरोना देखा परेको खबर बाहिरीरहेकै बेला बेलायतबाट नेपाल आएका ५ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
बेलायतबाट आएका ५ जनामा सोमबार कोरोना पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख बासुदेव पाण्डेले बताएका छन् ।
तर उनीहरुलाई पुरानो प्रजातिको कोरोना हो वा नयाँ भन्नेबारे स्पष्ट नभएको पाण्डेले बताए । उनले भने, ‘संक्रमित सबै होटल क्वारेन्टिनमै छन् ।’
पछिल्लो समय बेलायतमा चाँडै फैलिने नयाँ किसिमको कोरोना भाइरस देखिएका कारण सरकारले बेलायतबाट आउन रोक लगाइएको छ । पुस १ गतेदेखि ७ गतेसम्म आएका सबैलाई अनिवार्य १० दिन क्वारेन्टिन बस्न र परिक्षण गर्न मन्त्रालयले आग्रह गरेको छ ।
महाशाखा प्रमुख पाण्डेले कोरोना देखिएका ५ जनाको जिन अध्ययन गरी नयाँ वा पुरानो भाइरसबारे थप जानकारी लिइने बताए ।