१९ फाल्गुन २०७७, बुधबार

वरिष्ठ राजनीतिज्ञ गोविन्दप्रसाद लोहनीको निधन



१२ पुस, काठमाडौं । वरिष्ठ राजनीतिज्ञ गोविन्दप्रसाद लोहनीको ९३ वर्षका उमेरमा शनिबार राति निधन भएको छ ।

करीब दुई महिनाअघि राजधानीस्थित मेडिसिटी अस्पतालमा उपचाररत लोहनीको निधन भएको परिवार स्रोतले जनाएको छ ।

उनी सन् १९५६ मा नेपाल राष्ट्र बैंकमा सेवा प्रारम्भ गरेर अनुसन्धान एवं अर्थशास्त्रका विशेषज्ञका रूपमा १९५९ देखि १९६४ सम्म कार्यरत थिए । सन् १९६४ देखि १९६६ सम्म तत्कालीन पञ्चायत मन्त्रालयमा सेक्रेटरी र भूमिसुधार मन्त्रालयमा सल्लाहकार समेत रहेका उनी १९७२ देखि १९७८ सम्म राष्ट्रिय योजना आयोगका सदस्य तथा १९७८ देखि १९८३ सम्म पाकिस्तान, इरान र टर्कीका लागि नेपाली राजदूत हुनुहुन्थ्यो ।

छयालीस सालको जनान्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका लोहनी पछिल्लो समय स्वतन्त्र बुद्धिजीवीका रूपमा रहेका थिए । उनका ‘नेतृत्वको भोक’, (कथासङ्ग्रह), ‘यो हो सोभियत रूस’, ‘आजको चीन’, ‘चीनी जनसङ्ग्रहको इतिहास’, ‘कमरेड जाने होइन’, ‘गोविन्दप्रसाद लोहनीका दार्शनिक रचनाहरू’लगायत भर्खरै मात्र ‘नेतृत्वको भोक र अन्य कथाहरू’ नामक पुस्तक प्रकाशित छन् । साथै राजनीति, अर्थतन्त्र, इतिहास, संस्कृति र साहित्यका एक हजारभन्दा बढी फुटकर रचनासमेत प्रकाशित छन् ।

स्वर्गीय लोहनीका दुई छोरा र एक छोरी छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु