६ आश्विन २०८०, शनिबार

विजुली पुग्दा हुम्लाको खोल्सी झलमल्ल, दियालो बाल्ने बाध्यता हट्यो



समर हुम्ली

१२ पुस, काठमाडौं । लामो समयको कसरत र प्रयासपछि नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाको खोल्सीमा विजुली पुग्दा करीब तीन सय घरधुरी झलमल्ल भएका छन् । विजुलीको लाइन पुगेसँगै सल्लाको दियालो बाल्नुपर्ने बाध्यताबाट खोल्सीबासीले छुट्कारा पाएका छन् ।

यस अघि गाउँमा बिजुली नहुँदा कि त सल्लाको दियालो बाल्नु पर्ने, कि त सोलार टुकी र अन्य वैकल्पिक व्यवस्था गर्न बाध्य हुनुपर्ने अवस्था रहेको जाडखोल्सी गाउँका स्थानीयबासी तोप्चेन लामाले बताए ।

नाम्खा गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने जाडखोल्सी, खगालागाउँ, गुम्बा र सिमकोट गाउँपालिकाको वडा नम्बर ८ मा पर्ने खोल्सी गाउँका करीब तीन सय घरधुरी झलमल्ल भएका छन् । करिब तीन करोडको लागतमा २८ किलोवाट विजुली बाल्न सफल भएको नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर लामाले जानकारी दिए ।

गाउँपालिका, संघ, प्रदेश, वैकल्पिक उर्जा र स्थानीयहरूको जनश्रमदान गरेर करीब तीन करोड खर्चमा २८ किलोवाटको विजुली उत्पादन सफल भएको छ ।

गाउँमा नै विजुली बल्दा विभिन्न प्रकारका साना काम, घरेलु उद्योग तथा अन्य कामहरूको लागि सहज हुनुको साथै स्थानीयबासीहरुको स्वास्थ्यमा पनि सुधार आउने आशा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको