१ मीटरको फलामको रडले ढाड छेडिएका बालकको सफल शल्यक्रिया
१२ पुस, काठमाडौं । सुर्खेतस्थित घरको छतबाट खस्दा करिब १ मीटरको फलामको रडले ढाड छेडिएका ११ वर्षीय बालकको सफल शल्यक्रिया भएको छ ।
शिक्षण अस्पतालमा महाराजगञ्जमा डा. दिनेश कोइरालाको टोलीले सफलतापूर्वक शल्यक्रिया गरी मलद्वार नजिकैबाट छेडेर ढाडमा निस्किएको फलामको रड झिकेको हो ।
गत पुस ७ गते मंगलबार बेलुकी ७ बजेतीर आफ्नो घरको छतमा खेल्दाखेल्दै ११ वर्षीय बालक अमर भण्डारी १ तलाबाट अर्को घरमा खसेका थिए । बालकका मामा दिपक बुढाले भने, ‘करिब ५ फिटको फलामको रडले छेडिएर भुन्डीएको अवस्थामा भान्जालाई फेला पार्यौँ । घरायसी औजारले फलामको रड काट्न सम्भव नभएपछि बजारबाट मेसीन ल्याएर भान्जालाई उद्दार गर्यौं ।’
तत्काल उपचारका लागि प्रदेश अस्पताल सर्खेतमा लग्दा डाक्टरले २४ घण्टासम्मको लागि रगत रोक्ने, दुखाइ कम गर्ने औषधि दिएको बालकका मामा बुढाले बताए । उनका अनुसार डाक्टरले २४ घण्टाभित्र जतिसक्दो छिटो शल्यक्रिया गरियो भने बालक बाँच्न सक्छन्, नत्र जतिखेर पनि ज्यान जान सक्छ भनेका थिए ।
पुस ८ गते बुधबार बुद्ध एअरको विमानमा ७ वटा सिटको स्ट्रेचर बनाएर बालक भण्डारीलाई काठमाडौं ल्याइयो । दैलेखका प्रतिनिधिसभा सांसद राजबहादुर बुढा र कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीको अगुवाइमा सुरूमा बालकलाई ट्रमा सेन्टरमा लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको बुढाले बताए ।
शिक्षण अस्पतालमा बालकको प्रारम्भिक उपचारपछि पुस ८ गते बेलुकी ७ बजे शल्यक्रिया गरिएको थियो । डाक्टरको भनाई उदृत गर्दै बुढाले भने, ‘मलद्वारबाट छिरेको फलामको रडले भान्जाको आन्द्रा, मुटु, फोक्सो र अरू कुनैपनि अंगमा त्यस्तो असर गरेको रहेनछ । तर एपेन्डिसाइटमा चोट पुगेर त्यहाँ दिषा भरिएको अवस्था थियो । डाक्टरले एपेन्डिसाइटको पनि शल्यक्रिया गरिसक्नुभएको छ ।’
शल्यक्रियापश्चात् आइसीयुमा राखिएका बालकको अवस्था सुधार भएपछि अहिले पिआइसियुमा सारिएको छ । मामा बुढाले भने, ‘अहिले भान्जाको अवस्था ठिक छ । खाना खान्छु भनिरहेका छन् । डाक्टरले आज पानी मात्रै दिने र भोली देखि खाना खुवाउन मिल्छ भन्नुभएको छ ।’
दैलेखको लकान्द्र वडा नम्बर १ स्थायी घर भई हाल सुर्खेतमा २ कक्षामा पढ्दै गरेका ११ वर्षीय बालक अमर भण्डारीले नयाँ जिवन पाएका छन् ।