प्रदेश नम्बर १ मा मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन मन्त्रीले दिए राजीनामा
१२ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेकपामा देखिएको विभाजनको आगो क्रमस प्रदेशस्तरमा पनि सल्किएको छ ।
नेकपा प्रचण्ड–माधव नेपाल समूहले वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरूद्ध अविश्वासको प्रस्ताव गरेपछि प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध पनि अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।
शनिबार मुख्यमन्त्री शेरधन राईले आफूविरूद्ध अविश्वास प्रस्ताव ल्याउन हस्ताक्षर गरेको आरोपमा अर्थमन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेका थिए ।
मुख्यमन्त्रीको कदमसँगै प्रदेश नम्बर १ का समाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका छन् ।
एक मन्त्री र २ राज्यमन्त्रीसहित ३ जना मन्त्रीले राजीनामा दिएको प्रदेश नम्बर १ का नेकपा सचिव सुरेश राईले बताए । उनले भने, ‘उहाँहरूले राजीनामा दिइसक्नु भएको छ । मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिसकेका छौँ ।’
कुल ९३ सीट रहेको १ नम्बर प्रदेश सभामा नेकपाका मात्रै ६७ सांसद थिए । पार्टी विभाजनपछि ओली समूह अर्थात् शेरधन राईको पक्षमा २२ जना सांसद मात्रै छन् भने प्रचण्ड–माधव पक्षमा ४० भन्दा बढी सांसद छन् ।
पार्टी विभाजनसँगै मुख्यमन्त्री शेरधन राईले संसदीय दलभित्रको बहुमत गुमाएका छन् । यसअघि माओवादीले साथ दिएका कारण भीम आचार्यलाई हराएर शेरधन राई संसदीय दलको नेता अनि मुख्यमन्त्री बनेका थिए । माओवादीको साथ नपाएको भए ओली पक्षले प्रदेश १ मा मुख्यमन्त्री पाउने सम्भावना यसअघि पनि थिएन ।