हृदयचन्द्र सिंह पुरस्कार बराल र गोपालप्रसाद रिमाल पुरस्कार भट्टराईलाई
११ पुस, काठमाडौं । यस वर्षको हृदयचन्द्रसिंह प्रधान स्मृति सम्मान वरिष्ठ समालोचक डा. ऋषिराज बराल र गोपालप्रसाद रिमाल पुरस्कार साहित्यकार शार्दूल भट्टराईलाई प्रदान गरिएको छ ।
साहित्य सदनले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा. डा. राजेन्द्र सुवेदीले बराल र भट्टराईलाई सम्मान गर्नुभएको हो । हृदयचन्द्र स्मृति सम्मानको राशि रु २५ हजार तथा गोपालप्रसाद रिमाल पुरस्कारको राशि रु २० हजार छ ।
कार्यक्रममा आख्यानकार नारायण ढकालले पुरस्कृत स्रष्टाद्वयको साहित्यिक योगदानबारे समीक्षा गर्नुभएको थियो । सोही अवसरमा साहित्यकार वसन्त रिजालको पहिलो कवितासङ्ग्रह ‘ब्युँझिएपछि’ विमोचन गरिएको थियो । साहित्यकार डा. विदुर चालिसेले विमोचित कृतिको समीक्षा गर्दै रिजालका कविता प्रगतिशील चेतले भरिपूर्ण रहेको टिप्पणी गरे ।
कार्यक्रममा साहित्य सदनका उपाध्यक्ष प्रा.डा. हेमनाथ पौडेल, साहित्यकार सीता शर्मा, मित्रलाल पंज्ञानीलगायतले नेपाली साहित्यमा प्रधान र रिमालको विशिष्ट योगदानको चर्चा गरेकय थिए । साथै स्रष्टाहरूले प्रधान र रिमालको स्मरणमा कविता वाचन गरेकय थिए ।
(रासस)