उद्योग वाणिज्य महासङ्घ कर्णालीको अध्यक्षमा शाही निर्विरोध निर्वाचित्
११ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेश समितिका अध्यक्षमा पदमबहादुर शाही निर्विरोध निर्वाचित भएका छन् । आज सम्पन्न महासङ्घको कर्णाली प्रदेश समितिको निर्वाचनका लागि बिहीबार अध्यक्ष शाहीको मात्र एकल उम्मेदवारी परेको थियो ।
शाहीका अध्यक्षतामा ११ सदस्यीय प्रदेश कार्यकारिणी समिति निर्वाचित भएको निर्वाचन अधिकृत विवश बस्नेतले जानकारी दिए । अधिकृत बस्नेतका अनुसार समितिका उपाध्यक्षमा जुम्लाका रजवअली मनिहार (जिल्ला–नगरबाट) सुर्खेतका प्रकाश उप्रेती (एशोसियटबाट) र कोषाध्यक्षमा सल्यानका सुधन श्रेष्ठ निर्वाचित भएका छन् ।
एसोसियट सदस्यमा झविराज खत्री र सीताराम कार्की यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । जिल्ला नगरका पाँच सदस्यमा कविराज कँडेल (सुर्खेत), कर्णबहादुर खत्री (जाजरकोट), दीपकराज खड्का (रुकुम पश्चिम), कृष्णप्रसाद कोइराला (दैलेख) र नामग्याल तामाङ (हुम्ला) निर्वाचित भएको निर्वाचन अधिकृत बस्नेतले जनाए । उनका अनुसार प्रदेश समितिमा निर्वाचित पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाइएको छ । आज सम्पन्न निर्वाचनमा एसोसियटतर्फ ४४ र जिल्ला–नगरतर्फ ११ मतदाता थिए ।