धरहराको २० औं तलासम्म निर्माण सम्पन्न, असारदेखि उपत्यका अवलोकन गर्न पाइने
९ पुस, काठमाडौं । काठमाडौं उपत्यकाको महत्वपूर्ण एवम् ऐतिहासिक पर्यटकीय गन्तव्य धरहराको २० औं तलासम्मको निर्माण सम्पन्न भएको छ ।
वि. सं. २०७२ सालको महाभूकम्पले ढालेपछि पुनर्निर्माण भइरहेको धरहराको २० औं तलाको बार्दली निर्माण कार्य भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील ज्ञवालीले बताएका छन् ।
२०औं तलाको बार्दलीबाट आम सर्वसाधारणले थप विस्तारमा उपत्यकाको अवलोकन गर्न पाउने छन् ।
धरहरा परिसरभित्र एक हजार भन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङस्थल, टक्सार संग्रहालय, भूकम्प संग्रहालय रहने भवन निर्माण कार्य पनि तीव्र गतिमा भइरहेको छ ।
४२ दशमलव २ रोपनी क्षेत्रफलमा निर्माणाधिन धरहरा २३ तलाको बन्नेछ । त्यसबाहेक जमीनमुनिको दुईतलाबाट लिफ्ट प्रयोग गरी २०औं तलासम्म जान मिल्ने सुविधासहितको धरहरा पुनर्निर्माणको अन्तिम चरणमा छ ।
भूकम्पले ढालेको तीन वर्षपछि मात्रै पुनर्निर्माणको कामले गति लिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ पुस १२ गते धरहरा पुनःनिर्माणको उद्घाटन गरेका थिए ।
मुख्तियार भीमसेन थापाले १८८२ सालमा पत्नी त्रिपुरासुन्दरीको सम्झनामा निर्माण गर्न लगाएको ११ तले धरहरालाई नब्बे सालको भूकम्पले क्षति पुर्याएपछि नौतले बनाइएको थियो ।
३ अर्ब ४५ करोड रुपैयाँ लागतमा पुनःनिर्माण हुँदै गरेको धरहरा आगामी असार मसान्तभित्र सम्पन्न गरी हस्तान्तरण गर्ने प्राधिकरणको तयारी छ । प्राधिकरणका सिईओ ज्ञवालीले यसै आर्थिक वर्ष भित्रैमा काम सम्पन्न गर्ने गरी निर्माण कार्य अगाडि बढाइको बताए ।