विष्णु पौडेललाई हटाएर सुरेन्द्र पाण्डेलाई महासचिव बनाउदै प्रचण्ड-नेपाल समूह
९ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले विष्णु पौडेललाई हटाएर सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने भएको छ । यसअघिको बैठकबाट केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको प्रचण्ड नेपाल समूहले सुरेन्द्र पोण्डेलाई पार्टीको महासचिव बनाउन लागेको हो ।
आज दिउँसो १ बजे बैठकले पाण्डेलाई महासचिव नियुक्त गर्ने बताइएको छ ।
महासचिवका लागि भीम रावल, वर्षमान पुन र जनार्दन शर्माको नाम पनि चर्चामा थियो।
अध्यक्ष माधवकुमार नेपालले महासचिवमा भीम रावलको नाम अघि सारेका थिए भने अर्का अध्यक्ष प्रचण्डले भने वर्षमान पुन र जनार्दन शर्मामध्ये एक जनालाई महासचिव बनाउन चाहेका थिए ।
नेकपा एक हुँदा पहिलो वरियताका बरिष्ठ नेता झलनाथ खनालले भने सुरेन्द्र पाण्डेलाई महासचिव बनाउन चाहेका छन् ।
पार्टी विभाजनमा नेता खनालले ‘त्याग’ गरेकाले उनले भनेको व्यक्ति नै महासचिव हुन लागेको एक नेताले बताए । उनले भने, ‘उहाँले आफूभन्दा पछिल्लो वरियतामा रहेका नेपाललाई अध्यक्ष मान्नुभएको छ । महासचिवमा उहाँले भनेको व्यक्ति हुनु स्वभाविक हो ।’
यसअघि बुधबार बसेको प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठकले ओलीलाई संसदीय नलको नेताबाट समेत हटाएर सर्वसम्मत प्रचण्डलाई दलको नेता चयन गरेको छ ।