१९ श्रावण २०७८, मंगलवार

हुम्लामा एक ग्याँस सिलिन्डरको मूल्य १४ हजार



८ पुस, हुम्ला । हुम्लामा खच्चरबाट बोकाएर ल्याएको एक ग्याँस सिलिन्डरको १४ हजार रुपैँयाँ पर्ने गरेको छ । तर पनि सिमकोटमा ग्याँस प्रयोग गर्नेहरूको संख्या भने बढ्दै गएको छ ।

छिमेकी जिल्ला मुगुमा गाडी पुगेपछि हुम्लाको चंखेली गाउँपालिकाका विभिन्न गाउँहरूमा सानोतिना ब्यापार व्यावसायले गति लिन थालेको दार्मा गाउँका प्रेमबहादुर शाहीको अनुभव छ ।

हुम्लाको सदरमुकाम सिमकोटमा ग्याँसको खपत बढ्नुमा एक त दिनमा १०/१५ घण्टा लोडसेडिङ हुने गरेको छ भने अर्को एक सानो आँठो दाउराको एक हजार पर्ने गरेको छ । यसैले पनि ग्याँस महङ्गो भए पनि प्रयोग गर्न सहज, सरल भएकाले यसप्रति हुम्लीहरूको आकर्षण बढेको सिमकोटमा ग्याँस प्रयोगकर्ताहरूले सुनाए ।

मुगुबाट पहिलै नै अर्डर गरेपछि ग्याँस ल्याइने खच्चर ब्यापारीहरूले बताएका छन् । हाल सिमकोटमा करीब एक सय जनाले ग्याँस प्रयोग गर्ने गरेका छन् । ग्यास सकिएपछि नौ हजार तिरेर फेर्न पाइन्छ ।

गत वर्ष १२ हजार पर्ने ग्याँस यो वर्ष चौध हजार पर्ने गरेको छ । सिमकोटमा विभिन्न प्रकारका वैकल्पिक उर्जाको प्रयोग मध्ये ग्याँसको खपत पनि एक हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु