आफुले रोजेको केटासँग बिहे नगरेको भन्दै दाजुले गरे बहिनीको हत्या
८ पुस, काठमाडौं । आफुले रोजेको केटासँग बिहे नगरेको भन्दै रीसको झोकमा दाजुले बहिनीको हत्या गरेका छन् ।
खोटाङको साकेला गाउँपालिका वडा नम्बर १ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईले प्रेम बिवाह गरेपछि दाजुले उत्तिसको लौरोले कुटेर हत्या गरेको खुलेको छ ।
पटक–पटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूलो बुबाका छोरा सञ्जीव राईले नजिकैको जङ्गलमा लगेर सकुन्तलाको हत्या गरेको खुलासा भएको हो ।
सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुन्तलाले शुक्रबार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २६ वर्षीय दिनेश कटवालसँग प्रेम विवाह गरेकी थिइन् ।
विवाह गरेको तीन दिनपछि सोमबार बिहान घरायसी व्यवहार छ भन्दै दाजु सञ्जीवले घरैबाट जङ्गलमा लगेर बहिनी सकुन्तलाको हत्या गरेको खुलेको छ ।
हत्या हुनुभन्दा अघिल्लो राति दाजु सञ्जीवको फोनबाट पटकपटक धम्की आइरहेको र बिहान आफैं हाम्रो घरमा आएर सकुन्तलालाई लगेर लगेर गएको उनका श्रीमान् दिनेशले बताए । उनले भने, ‘घरबाट हिँडेको केही समयपछि नै सकुन्तलासँग फोन सम्पर्क नभएपछि खोजतलास गर्दा सेखुवा र निर्मणलीडाँडाको सिमानामा पर्ने साप्सुुखोला नजिकैको जङ्गलमा हत्या भएको अवस्थामा शव फेला पर्यो ।’
सुकन्तलासँग तीन दिन अघि माात्रै विवाह बन्धनमा बाधिएका दिनेशले हत्या संलग्नलाई कडा कारबाहीको माग गरेका छन् ।
घटनामा संलग्न राईलाई पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरिक्षक नारायणप्रसाद चिमरियाले बताए ।
सकुन्तलाको शरिरको विभिन्न भागमा निलडाम देखिएको आफन्तले जनाएका छन् । मङ्गलबार जिल्ला अस्पताल खोटाङमा शव परीक्षण गरेपछि माइतीपक्षले जिम्मा लिएर दाहसंस्कार गरेको छ ।