सिमकोटमा कालोमार्सी चामलको मूल्य प्रति क्वीन्टल २५ हजार
८ पुस, हुम्ला । हुम्लाको पुरानो तथा रैथाने बाली कालोमार्सी चामल सिमकोट बजारमा एक क्वीन्टलको २५ हजारमा बेचिदै आएको छ । हुम्लाको उनपानी, रीप र अन्य गाउँका स्थानीयहरूले भेडाबाख्रामा बोकाएर सिमकोटमा बेच्दा राम्रो मोल पाएकाले खुशी भएका छन् ।
हुम्लामा विभिन्न गाउँमा गएर अन्य अन्न तथा नुनसँग साँटेर ल्याएको कालोमार्सी धानलाई गाउँमा कुटेर चामल बनाई ल्याउँदा प्रतिकिलो एक सयदेखि एक सय ५० सम्म फाइदा हुने उनपानीका स्थानीय दलबहादुर फडेराले जानकारी दिए ।
भेडाबाख्रामा गाउँबाट तीन दिनमा सिमकोट पुगाउँदा सेतो चामल खाएर दिक्क भएकाहरू र होटलहरुमा राम्रो बिक्री हुने गरेको उनपानी गाउँका छत्त कार्कीले बताए । उनले भने, ‘वर्षको दुई पटक चार–पाँच क्वीन्टल कालोमार्सी सीमकोट ल्याउने गरेको छु ।’
सिमकोटमा रैथाने कालोमार्सी चामल, सिमी केराउको राम्रो ब्यापार हुने गरेको छ । घरबाट दुई–तीन दिनको बाटोमा सदरमुकाम पनि हेर्न हुने र ब्यापार पनि राम्रो भएकाले भारततिर जानुभन्दा यो काम राम्रो भएको उनपानी, रिप गाउँका स्थानीयहरूको बुझाई छ ।