प्रकृतिको अनुपम उपहार रारालाई कस्तो पर्यटन गन्तव्य बनाउने ?

कृष्ण प्रसाद पौडेल/टीका भट्टराई
७ भाद्र २०७७, आईतवार
कर्णाली प्रदेश सरकारले २०७५ साललाई रारा कर्णाली पर्यटन बर्षको रूपमा मनाउने निर्णय गरेसँगै बैशाख १ गते प्रधानमन्त्री के.पी. शर्मा ओलीले रारामा पर्यटन बर्षको विधिवत उद्घाटन गरे । कर्णाली प्रदेश र संघीय सरकारको यो उत्साहमा हौसिएर कर्णालीको उत्साहमा रमाउन यो लेखक पनि त्यतै थियो ।
रारा, प्राकृतिक सुन्दरताको विश्वकै अनुपम उदाहरण मानिन्छ । यस अर्थमा सक्दा सबै नेपाली, कम्तीमा एक पटक पुग्नै पर्ने यो ठाउँको व्यवस्थापन निकै महत्वपूर्ण छ ।
अहिले कर्णाली राजमार्ग बनेसँगै दक्षिणबाट राराको यात्रा निकै सहज बनेको छ । यस बाटोले रारालाई मानसरोवर र कर्णाली प्रदेशका अन्य पर्यटन गन्तव्यसँग जोड्ने बाटो समेत खुलेको छ । यसले भारतीय तथा नेपाली पर्यटकलाई आकर्षित गरिरहेको छ । उत्तरी छिमेकीसँग जोड्ने हिल्सा सडक बनेसँगै चिनियाँ पर्यटक भित्रिन सक्छन् । यी सबै कुराले रारा क्षेत्रमा पर्यटक बढाउन निकै मद्दत पुग्ने देखिन्छ । तर समयमै रारालाई कस्तो पर्यटकीय गन्तव्य बनाउने स्पष्ट कार्ययोजना बनाउन नसके केही बर्षमै यो प्रकृतिको अनुपम सुन्दरता बोकेको राराले आफ्नो सुन्दरता गुमाउने खतरा पनि उत्तिकै छ । यसको छनक त उद्घाटनकै दिन रारा ताल वरिपरि छरपष्ट पर्यटक पाहुनाहरूका गाडीको प्रदुषण र यत्रतत्र फालिएका पत्रु खाना र पानीका बोतलको प्लाष्टिकका फोहोरले समेत देखाएको थियो ।
रारा अरु कारणले भन्दा पनि त्यसको सुन्दरता र स्वच्छताको कारणले धेरै महत्व राख्छ । चैत वैशाखको सुक्खा, धूलो र डढेलो लागेको तुवाँलामा रुमलिएका बेलामा रारा पुग्नुको महत्व नै फरक लाग्छ । यसलाई शुद्ध पर्यटनका दृष्टिले मात्र हेरेर पनि पुग्दैन । रारा कर्णालीवासी, मुगुवासीको सांस्कृतिक पहिचान र गर्वको विषय पनि हो । तालमा पुर्वी पहाडको छायाँ पर्नुलाई धेरै राम्रो मानिन्छ । रारामा पुर्वमा रहेको छायाँनाथको छायाँ पर्छ । सँगै, यसका वरिपरि ठाकुरनाथसँग जोडिएका धेरै किम्बदन्ती पनि छन् । रारा उपत्यकाबाट सारिएका गाउलेहरूको मष्टा अझै पनि सारेका छैन । यसबाट पनि यसको सांस्कृतिक महत्व बुझ्न सकिन्छ । यो सँगै, राराले त्यहाँका जनतालाई फाइदा दिन सक्यो भने गर्व अझ खँदिलो हुने हो ।
मुख्य कुरा यसलाई सुनको अण्डा पार्ने कुखुरीलाई जस्तै पर्यटकमात्रै भित्र्याउने विचारबाट व्यवस्थापन सोच्नु आफैँमा यस तालको मृत्यू तर्फको यात्रा हुनेछ । हामी आफैले पहिले देखेको रारा अहिले नै निकै फरक देखिन थालेको छ । दक्षिण पानी ढलो तिरका पानीका मुहान सुक्न थालेका छन् । बाटो बरपर जताततै प्लाष्टिक छरिएका छन् । तालमा बिस्तारै झारपात बढेको छ । रारालाई पर्यटन क्षेत्रको रूपमा प्रर्वद्धन गर्ने भन्दै बेला बेलामा पर्यटन महोत्सव तथा सेमिनारहरू हुने गरेका छन् । यी महोत्सव तथा सेमिनार पछि रारा क्षेत्र झन् फोहोर र प्रदूषित हुने गरेको छ । हरेक पटकको जमघटमा पनि यहि कुरा दोहोरिने गरेको छ ।
केही समय अगाडि रारा उपत्यकाको पानी ढलो भित्रै ठुलो होटल बनाउने योजना स्वीकृत गरिएको समाचार समेत सुन्नमा आयो । मिली चौर रारा सुन्दरताको महत्वपूर्ण पक्ष हो । माथि सेतो पहाड, तल निल सल्लाका बन र अझ तल हरियो चौरमा चरेका जनावरको तालमा छायाँ देखिएको सौन्दर्य अद्वितीय छ । हामी धेरैलाई लोभ्याउने यसैले हो । रारा कि अप्सरा भन्ने कविता लेख्ने कवि महेन्द्र लोभिएको पनि यही भएर होला सायद ।
रारा निकुञ्ज व्यवस्थापनले यसको प्राकृतिक अवस्था कायम राख्न बिगतमा निकै ध्यान दिएको देखिए पनि अहिले अवस्था निकै फेरिएको छ । रारा तालसम्म नै गाडी पुर्याउन बाटो बनाउँदै गरेकोबाट होटलका व्यापार र आम्दानी त बढ्ला । सरकारले कर र राजस्व पनि उठाउला तर यी होटल र बाटो ताल छेउमा पुगे भने ताल झन् कुरूप हुँदै जाने निश्चित छ । यो कुरा थाहा पाउन हामी धेरैले देख्दै आएको पोखरा स्थित फेवा तालको पहिले र अहिलेको अवस्थालाई फर्केर हेर्दा मात्र पुग्छ ।
तसर्थ तालको पानीढलो बाहिरका ठाउँहरूमा पर्यटकको वासका लागि पुर्वाधार बनाउनु पर्छ । ताल्चा, मुर्मा, झ्यारी, पिना, तुम, सायाखोला जस्ता बस्तीहरू लगायत मध्यवर्ति क्षेत्रका धेरै गाउँमा घर बसाइका विकल्पहरूले आम्दानी धेरै जन समुदायमा वितरण गर्न र यो सुन्दर तालको अपनत्व समेत बढछ । यसको संरक्षणमा समर्थन जुटाउन प्रत्यक्ष सहयोग पुग्नेछ । साँया खोलाका गाउँ अझै निकुञ्जमा निर्भर नै छ । राराले उनीहरूलाई भौतिक रूपमा केही दिएन भने उनीहरूलाई त्यो सौन्दर्यको अर्थ कति नै रहन्छ र ?
राराले मात्र पर्यटकको बसाइ एक दुइ रात पनि रहन सक्छ । आसपासका अन्य पर्यटन गन्तव्य र स्थानीय संस्कृति सहितको पाउना घरले पर्यटकको बसाइ लामो बनाउन मद्दत गर्छ । बलेरो र बाइकमा हुइकिएर राराको एक झलक हेरेर सेल्फी खिची गुड्का र चौधरी ग्रुपको फुक्कै वाईवाई खाएर त्यसको खोल तालकै छेऊमा फाली फरक्क फर्कने युवाहरू अहिले राराका पर्यटक हुन् । पाँचै लाख पुगे पनि यस्ता पर्यटकको आगमनले स्थानीय अर्थतन्त्रमा ठुलो योगदान पुग्दैन । धेरै खर्च गर्न नसक्ने तथा शैक्षिक भ्रमणमा आउनेका लागि छोटो छरितो व्यवस्था गर्नु अर्के कुरा हो ।
रारालाई प्राकृतिक अवलोकनको एउटा उत्कर्षका रूपमा प्रस्तुत गर्न तत्कालै दीर्घकालीन पर्यटन व्यवस्थापन रणनीति बनाउन अति आवश्यक छ । यस्तो योजना बनाउँदा समग्र कर्णालीको पर्यटनमा राराको स्थानसँगै निर्धारण गरेर नै बनाउनु पर्छ । राराका सम्भाव्य पर्यटकहरू को हुन् र यिनले कसरी स्थानीय अर्थतन्त्रमा कस्तो योगदान बढाउन सक्लान् भन्ने कुराको अध्ययन बिना नै अहिले पर्यटन क्षेत्रबाट हुने आर्थिक योगदानको ठुलो अपेक्षा बाँडिएको छ । युरोपेली पर्यटकका लागि रारा मात्र पर्यटन गन्तव्य होइन । उदाहरणका लागि, करानका कार्मारोङ वा मुगु गाउँ युरोपेली पर्यटकका लागि आकर्षक गन्तव्य हुन् सक्छ भने मानसरोवर भारतीयका लागि । यस्ता गन्तव्यसँग राराको संयोजन जरूरी छ । केही वर्ष पहिले रारा महोत्सवमा माला लगाउने पर्यटक नपाएर गमगढीमा काम गर्ने विदेशीलाई माला लगाउनु परेको कथा हाम्रो सम्झनामा ताजै छन् ।
राराको व्यवस्थापनका लागि छोटामोटा योजनाहरू त्यसको स्थापना पछि देखि नै बनेका छन् । संरक्षित क्षेत्रहरू गैह्र सरकारी संस्था विशेष गरी तत्कालीन महेन्द्र प्रकृति संरक्षण कोषले व्यवस्थापन गर्ने सन्दर्भमा २०६३ सालतिर पर्यटन सहित रारा व्यवस्थापनको योजना बनेको थियो । पछि राजनीतिक फेरबलदसँगै सरकारले नै त्यसको व्यवस्थापन गर्ने कुरा भयो तर यस्तो भएन । खर्च र दृष्टिकोणको अभावमा यो कुरा अलपत्रै रहयो ।
राराको व्यवस्थापनका परस्पर पृष्ठपोषण गर्ने मुख्य तीन पक्षहरू छन्ः प्रकृति र जैविक विविधता संरक्षण, पर्यटन विकास र जनजीविका प्रवद्र्धन, जनजीविकाको प्रवद्र्धन विना प्रकृति र जैविक विविधता संरक्षण हुन सक्दैन । प्रकृति र जैविक विविधता विना पर्यटनको अर्थ रहँदैन । साँस्कृतिक पक्ष पनि यहाँको विर्सन नहुने पाटो हो । एउटा पक्षमा मात्र ध्यान दिँदा समग्र विकासको उद्देश्य हासिल हुन सक्दैन । यस किसिमको एकिकृत व्यवस्थापनमा देश नै अग्रणी रहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रको व्यवस्थापनबाट सुरू भएको अभ्यास अहिले मनास्लु पुगेको छ । पर्यटनका क्षेत्रमा नयाँ व्यवस्था र विधिहरू प्रयोगमा आइरहेका छन् । रारा जस्ता क्षेत्रमा यसलाई अझ अगाडि लान सकिन्छ ।
रारा कर्णाली बर्ष बनाउने कुरासँगै पर्यटन व्यवस्थापनलाई दिगो बनाउने आधारभूत ढाँचामा विचार गर्न जरुरी छ । मुख्यतः पदयात्रा, पाउना घर र स्वस्थ्य (प्राङ्गारिक) खानेकुरा प्राकृतिक पर्यटन व्यवस्थापनका आधारभूत पक्ष हुन् । यसको व्यवस्थापनमा समुदायको सक्रिय सहभागिताले मात्र यसको दिगो व्यवस्थापनको व्यावहारिक योजना बनाउन सम्भव हुन्छ ।
राराकै पर्यटकीय विविधताको कुरा गर्दा पनि कुनै पनि पेट्रोलियम सवारी साधन रारा उपत्यकाभित्र छिर्न नपाउने व्यवस्था गर्नु पर्छ । ताल वरिपरि घुम्न साइकल, घोडसवार र पैदल हिँड्ने गोरेटो बनाउन सकिन्छ । अपाङ्ग, बाल तथा बृद्ध मैत्री बाटो बनाएर समावेशी पर्यटन व्यवस्थापनको नमुना बनाई विशिष्टीकरण गर्ने अवसरहरू छन् । पर्यटकहरूलाई दृष्य अवलोकनका लागि मात्र छोटो अवधिका लागि रारा उपत्यकाको भित्री क्षेत्र प्रवेश दिने व्यवस्था गरियो भने वातावरणिय स्वच्छता पस्कन सकिन्छ । मुख्यतः रारा उपत्यकाको पानी ढलो भित्र गाडि वा मोटरसाइकल, रेष्टुरेण्ट र सुत्नका लागि होटल/लज राख्न दिनु हुँदैन । यो कुरालाई आत्मसात् गर्दै विगतमा रारा पानी ढलो भित्र रहेको बस्ती नै उठाएर बाँकेको चिसापानीमा स्थानान्तरण गरिएको थियो । अब रारालाई आवास र होटलका लागि खुला गर्नु उनीहरू प्रति पनि उपहास हुन्छ ।
रारा उपत्यका भित्रका सबै संरचनाहरू सैनिक व्यारेक, होटल लज र पाउना घरलाई तत्कालै पानी ढलो बाहिर सार्न, बनाउन र बिस्तार गर्न आवश्यक निर्णय लिनु पर्छ । यस अघि स्वीकृत गरिएका तर बनि नसकेका संरचना बनाउन तत्कालै रोक लगाउनु पर्छ । यस क्षेत्रका गाउँपालिकासँग सहकार्य गरी निजी होटल लज तथा सामुहिक पाउना घर सञ्चालन गर्ने उपयुक्त स्थानको छनौंट, पाहुना घर सञ्चालन कार्यविधि र तालसम्मको पदयात्राको पुर्वाधार निर्माण गरिनु पर्छ । साथै, वन्यजन्तु र पर्यटकले एक अर्कालाई हानी पुर्याउन नदिन आवश्यक संरचना र निगरानीको व्यवस्था मिलाउनु पर्छ ।
स्वस्थ्य स्थानीय खानेकुराले पर्यटकलाई लामो समयसम्म बस्न उत्साहित र विश्वस्त बनाउन सक्छ । यसले स्थानीय तहमा आम्दानी बढाउन र यसको वितरण किसानसम्म पु¥याउन सघाउँछ । कर्णालीको हावापानीको विशेषतामा हुने स्थानीय रैथानै बालीहरूको परिकार रारामा पर्यटक भित्र्याउने मुख्य आधार हुन सक्छ । यसका लागि प्राङ्गारिक कृषिका मापदण्ड अपनाई गरिने खेतिपाती प्रवद्र्धन गर्न र यसबाट गरिएका उत्पादनमात्र पर्यटकहरूको खानेकुरा हुने प्रवन्ध मिलाउनु पर्छ । मैदानवासी नेपालीहरूलाई स्याउका बगैचामा बसेर दिन बिताउन पाउनु आफैमा अर्को पर्यटकीय आकर्षण हो ।
बाहिरबाट लगेका खानाका आधारमा चल्ने पर्यटनको आम्दानीले केही ठुला व्यापारीले मात्र फाइदा लिने र स्थानीय अर्थतन्त्रलाई खासै योगदान गर्दैन । रारा संरक्षित क्षेत्रका मध्यवर्ती गाउहरूले यसबाट के फाइदा पाउछन ?अहिले स्थानीय पसलमा बाहिरका चाउचाउ र रक्सी पाइन्छ तर आलु र कोल (मासु सहित वा रहित मिश्रित सिमी र फलेको मकै) खान्छु भने कतै पाईंदैन । हवाइजहाज चलेका दिन नेपालगञ्जबाट तरकारी, फलफुल र माछा मासु ताल्चाको बाटो हुँदै रारा पुग्छन् । रारा पुगेर नेपालगञ्ज अँझ भारतदेखि आउने यस्ता खानेकुरा खाँदा कस्तो अनुभव होला ? अझ यो यथार्थ विदेशी पर्यटकले थाहा पाए के सोच्दा हुन् ? गाउँमै तरकारी खेति र पशुपालन बढाउन सकिन्न र ?
यसका साथै पर्यटनको व्यवस्थापन गर्न आवश्यक जनशक्तिको तयारी अर्को महत्वपुर्ण पक्ष हो । स्थानीय समुदायमा बाहिरियालाई खप्ने क्षमता बनाउन बाहिरियाहरूका अपेक्षा थाहा पाउनु जरूरी हुन्छ । यी सबै कुरालाई आत्मसात गरेरमात्र रारा पर्यटन व्यवस्था गर्न सकिन्छ ।