१९ फाल्गुन २०७७, बुधबार

पूर्वराष्ट्रपति डा. यादवको टिप्पणीः ‘राष्ट्रपति र प्रधानमन्त्रीको कदमले मर्माहित बनाएको छ, सर्वोच्चको ध्यान पुगोस्’



६ पौष, काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्यादाअनुसार काम गर्न नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले आफूलाई मर्माहित बनाएको उनले बताए ।

सोमबार त्रिभुवन विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले भने, ‘राष्ट्रपति संस्थामाथि पनि देशले प्रश्न उठाएको छ, यो संस्था देशको अभिभावक हो। उहाँ आफ्नो भूमिका निर्वाह गर्नबाट चुक्नुभएको छ ।’

पूर्व राष्ट्रपति यादवले संसद विघटन गर्ने सरकारको सिफारिस र त्यसलाई सदर गर्ने राष्ट्रपतिको निर्णय राजनीतिक, संवैधानिक र नैतिक रूपमा अमिल्दो रहेको बताएका छन् । उनले भने, ‘नेपाली जनताले आशीर्वाद दिएर पुर्‍याएको संस्थाको विषयमा यसअघि मैले कहिल्यै पनि टिप्पणी गरेको थिइन, आज अत्यन्त मर्माहित भएर यो कुरा भनिरहेको छु, म मात्रै होइन, तीन करोड जनता मर्माहित भएका छन् ।’

अब यो विषयमा सर्वोच्च अदालतको ध्यान पुग्नुपर्ने यादवले बताए । उनले भनेका छन्, ‘सर्वोच्च अदालतको यो विषयमा ध्यान पुगोस्, ध्यान पुग्नैपर्छ भन्ने विनम्र आग्रह पनि छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु