२१ फाल्गुन २०७७, शुक्रबार

जापानका कुख्यात हत्यारा ‘ट्विटर किलर’लाई मृत्युदण्डको सजाय



१ पुष, काठमाडौं । ‘ट्विटर किलर’को नामबाट चिनिने जापानका कुख्यात हत्यारालाई मृत्युदण्ड दिइने भएको छ। मंगलबार जिल्ला अदालतले ३० वर्षीय टाकाहिरो सिराइसीलाई मृत्युदण्डको सजाय सुनाएको जापान टाइम्सले जनाएको छ।

शिराइसीलाई अदालतले हत्या, अंगभंग र शवहरू अपार्टमेन्टमा भण्डारण गरेकोमा दोषी ठहर गरेको हो। उनीमाथि पीडितहरूलाई यौन दुर्व्यवहार समेत गरेको आरोप छ।

उनले सामाजिक सञ्जालमा आत्महत्या गर्न इच्छा व्यक्त गर्ने नौ जनाको हत्या गरेका थिए। हत्या गरिएकामा आठ जना महिला र एक १५ वर्षीय बालक थिए।

सन् २०१७ मा कनागावा प्रान्तको जामास्थित सिराइसीको अपार्टमेन्टमा पुग्दा प्रहरीले शवहरू भण्डारण गरिएको अवस्थामा फेला पारेका थिए। बेपत्ता भएकी २३ वर्षीया महिलाको खोजी गर्दै जाँदा प्रहरीले उनको अपार्टमेन्टमा कुलरभित्र शवहरू राखिएको अवस्थामा फेला पारेको थियो। ती महिलाको शव पनि त्यहीँ फेला परेको थियो।

फैसला हुन अघि उनका वकिलले सजाय घटाउनुपर्ने माग राखेका थिए। उनका वकिलले पीडितहरूमा आत्महत्याका इच्छा भएको र आफैंले मार्न अनुमति दिएको दाबी गरेका थिए। तर, अभियोजकहरूले कुनै हालतमा उनको सजाय नघटाउने पक्षमा थिए।

उनले आत्महत्याका इच्छा व्यक्त गर्ने पीडितहरूलाई ट्विटरमार्फत सम्पर्क गर्थे। उनले ट्विटरमा आफ्नो नाम ‘ह्याङम्यान’ राखेका थिए।

त्यसपछि उनले मद्दत गर्ने वाचा गरी आफ्नो जामास्थित अपार्टमेन्टमा बोलाउने गरेको टाइम्सले जनाएको छ। त्यसैले, उनलाई ट्विटर किलर भनिएको हो।

स्रोत : एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु