१९ फाल्गुन २०७७, बुधबार

‘मकुना’ हात्तीले १८ जनाको ज्यान लियो, उपचार गर्न नसकीए मार्ने तयारी



३० मंसिर, सुनसरी । कोसीटप्पु वन्यजन्तु आरक्षमा रहेको रैथाने ‘मकुना’ हात्तीले तीन वर्षको अवधिमा १८ जनाको ज्यान लिएको छ । सोमबार मात्रै मकुनाको आक्रमणबाट कोसी गाउँपालिका वडा नम्बर ६ का ३२ वर्षीय प्रमोद यादवको मृत्यु भएको थियो ।

सोमबार बिहान गहँुबारीमा पानी लगाउन जाने क्रममा साढे ५ बजे ‘मकुना’ले आक्रमण गर्दा यादवको घटनास्थलमै मृत्यु भएको कोसी गाउँपालिकाका अध्यक्ष ऐयबु अन्सारीले बताए ।

उनले भने, ‘हात्तीले मानसिक सन्तुलन गुमाएजस्तो देखिएको छ । पहिले मानिस देख्दा भाग्थ्यो अहिले आक्रमण गरिहाल्छ ।’

सुनसरी प्रशासनको मंगलबार बसेको बैठकले हात्तीको उपचारका लागि चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली बोलाएको छ । टोलीले उपचार गर्न नसके हात्ती मार्ने निर्णयमा प्रशासन पुगेको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए । उनले भने, ‘सकभर उपचार गर्ने, उपचार सम्भव नभए कानुनी रित पुर्याएर मार्ने निर्णय भएको छ ।’

मंगलबार कोसीटप्पु वन्यजन्तु आरक्षमा प्रशासन, गाउँपालिका अध्यक्ष र आरक्षका पदाधिकारीहरूबीच भएको बैठकले हात्तीपीडितलाई राहत तथा क्षतिपूर्तिका लागि सरकारसँग पहल गर्ने निर्णय पनि गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु