१७ आश्विन २०८०, बुधबार

उप–प्राध्यापक चलाउनेका लागि न्याय माग्दै विश्वविद्यालय परिक्रमा



२९ मंसिर, काठमाडौँ । कोरोना महामारीकै बीचमा परीक्षाकै बीचमा पढाइको समयलाई पनि कटाउँदै त्रिविका विद्यार्थीहरू भने केही दिनयता त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र विभागका उप–प्राध्यपक प्रेम चलाउनेको लागि न्याय माग्दै प्रदर्शन गरिरहेका छन्।

त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक हमला भएको ६८ औं दिन आइतबार दोस्रो पटक विद्यार्थी, प्राध्यापक, कवि, लेखक, स्तम्भकार र नागरिक समाज लगायतका अगुवाहरुले उनलाई न्याय दिन दबाव स्वरुप विश्वविद्यालयमा प्रदर्शन गरेका छन् ।

घटनाको ६८ दिन भयो, प्रेम चलाउने सरले कहिले न्याय पाउने ? अभियुक्त अपराध स्विकार्ने काठमाडौँ जिल्ला अदालत अपराधी जोगाउने ? न्याय नदिने भए किन चाहियो अदालत ? म विश्वविद्यालय भित्रै मारिन सक्छु ! हामीलाई कसले न्याय दिने ? कृपया यत्ति सुनिदिनुहोस् विश्वविद्यालय असुरक्षित छ ! लगायतका प्लेकार्ड सहित त्रिभुवन विश्वविद्यालयको घडी भवन अगाडीबाट नारा जुलुस सहित विश्वविद्यालय परिक्रमा गरेका छन् ।

उप–प्राध्यापक चलाउनेमाथि आक्रमण भएको दुई महिना भन्दा बढी बितिसक्दा पनि दोषीलाई कारवाही नभएको र अपराध स्वीकार गर्दा पनि न्यायालयको आडमा आक्रमणकारीहरूले खुलेआम उल्टै विश्वविद्यालयमा आएर शक्ति प्रदर्शन गरेपछि अपराधिक गतिविधि विरुद्ध परीक्षा तयारीको समय कटाएर आन्दोलनमा उत्रिनु परेको विद्यार्थीहरूले बताएका छन्।

‘हाम्रो परिक्षाको तयारी चलिरहेको छ। तर शिक्षकमाथि हमला गर्नेहरू नै विश्वविद्यालयमा आएर शक्ति प्रदर्शन गरिरहेका छन्। एकातिर शिक्षकको ज्यान लिने हिसाले सांघातिक आक्रमण गर्ने, अर्कोतिर खुलेआम शक्ति प्रदर्शनमा उत्रिनुले विश्वविद्यालयको वातावरण सुरक्षित छैन भन्ने देखियो’ त्रिविका विद्यार्थी कुमार बर्तौलाले भने, ‘हामी प्रेम सरको न्याय र त्रिविको वातावरण सुरक्षित होस् भन्ने मागसहित प्रदर्शन गर्न बाध्य भएका हौं ।’

परीक्षाभन्दा पनि विश्वविद्यालय नै नरहला भन्ने चिन्ता भएपछि परीक्षा र आन्दोलनलाई सँगै लिने गरी प्रदर्शन गर्न बाध्य भएको बताउँछन् त्रिविका विद्यार्थी मनोज खतिवडा। ‘प्राध्यपकको ज्यान लिने नियतका साथ हमला भएपछि हामीले न्यायको लागि बोल्दा हामीमाथि समेत आक्रमणको धम्की आइरहेको छ। ज्ञान आर्जन गर्ने ठाउँमा शिक्षक कुटिन्छ, न्याय माग्दा विद्यार्थीले धम्की सहनुपर्छ। हामी परीक्षा भनेर मात्रै कसरी बन्द कोठामा आँखा चिम्लेर बस्न सक्छौं?’, खतिवडाले भने, ‘हामी प्रेम चलाउने सरका लागि न्याय मात्रै मागिरहेका छैनौं, विश्वविद्यालयलाई अपराधिकरण हुनबाट जोगाउन पनि बोल्नै पर्ने भएकाले बोलिरहेका छौंँ।’

विश्वविद्यालयका उपकुलपतिको कार्यालय अगाडी कोणसभा गरेर प्राध्यापक चलाउने माथि भएको सांघातिक हमला र उनलाई हमला गर्नेहरुलाई कानुनी कारवाही गर्न भएको ढिलाईको विरोध गरेका हुन् ।

कोण सभामा बोल्दै नागरिक अगुवा श्याम श्रेष्ठले नेपालका विश्वविद्यालयहरुमा राजनीतिक पार्टी तिनका विद्यार्थी र प्राध्यापक संघहरू मिलेर त्रिकोणात्मकरुपमा अपराध गरिरहेको बताए । लोकतन्त्र भनेको गुण्डागर्दी नभएको उल्लेख गर्दै श्रेष्ठले भने, ‘त्रिभुवन विश्वविद्यालय भित्रै भएको यो गुण्डागर्दीले लोकतन्त्रको शिर निहुराएको छ, न्यायलय भ्रष्ट भएको हुनाले प्रेम चलाउनेले न्याय नपाएका हुन् ।’ उनले भने, ‘न्यायलयले समेत न्यायको शिर निहुराउने काम गरेको छ, प्राध्यापक नै सुरक्षित नहुने देशमा अरु को सुरक्षित हुन्छ ?’

कार्यक्रममा बोल्दै लेखक युग पाठकले विश्वविद्यालय देश विकास र चेतनाको छलफल हुने थलो हुनुपर्नेमा गुण्डागर्दीको थलोमा परिणत हुनु देशको लागि दुर्भाग्य भएको धारणा ब्यक्त गरे ।

त्यस्तै विश्वविद्यालयका विद्यार्थी कल्याण महाशाखा प्रमुख प्राध्यापक गंगा थापाले यस्ता घटना नदोहोरिउन भन्नेमा विश्वविद्यालय सजग भएको बताए । साथै उनले प्राध्यापक प्रेम चलाउने माथि भएको सांघातिक हमलाको न्यायिक परिणाम आउनेमा विश्वविद्यालय आशावादी भएको धारणा व्यक्त गरे ।

कार्यक्रममा प्राध्यापक शेरबहादुर गुरुङले विश्वविद्यालयले प्राध्यापक चलाउनेलाई जसरी पनि न्याय दिनुपर्ने धारणा राखे । उनले विश्वविद्यालयले यसबारेमा अध्ययन गरिहेको पनि जानकारी गराए ।

कार्यक्रममा अनेरास्ववियुका नेता लोकेन्द्र ऐरीले प्राध्यापक कुटिँदा प्राध्यापक संघ नबोल्नु, विश्वविद्यालय चुप लाग्नु अनि अपराधीले अपराध स्विकार्दा समेत उनीहरुलाई कार्वाही नहुनुले देशमा अचम्म भएको बताए ।

कार्यक्रममा डा.सचिन घिमिरे, विश्वविद्यालय समाजशास्त्र विभागका विद्यार्थी मञ्जु चौधरी, विकल्प भण्डारी लगायतले प्रेम चलाउनेलाई सरकारले न्याय नदिए अझ शसक्तरुपमा आन्दोलन गर्ने चेतावनी दिए ।

सभामा बोल्ने सबै वक्ताहरुले चलाउनेमाथीका हमलाकारी कांग्रेस निकट विद्यार्थी भएको भन्दै गगन थापा, कृष्ण सिटौला र शेरबहादुर देउवालाई यो विषयमा बोल्न र आफ्ना कार्यकर्तालाई कारवाही गर्न चुनौती दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको