२० श्रावण २०७८, बुधबार

पार्टीभित्र बहुमत र अल्पमत हुँदैन, मिलेर जानुको विकल्प छैन : मुख्यमन्त्री गुरुङ



२५ मंसिर, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एउटै पार्टीभित्र बहुमत र अल्पमत नहुने भन्दै मिलेर जानुको विकल्प नरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी फुट्ने विषयमा बाहिर आए जस्तो हल्ला नभएको भन्दै भ्रमपूर्ण प्रचारका पछि नलाग्न पार्टी कार्यकर्तालाई आग्रह गरे ।

शुरुमा पार्टी एकीकरण हुँदा तत्कालीन एमालेमा ६० प्रतिशत र माओवादी केन्द्रमा ४० प्रतिशतका आधारमा पद बाँडफाँट गरे पनि अहिले पार्टी एक भइसकेपछि बहुमत र अल्पमतको कुरा नरहेको मुख्यमन्त्री गुरुङले बताए । पार्टी एउटै भएपछि बहुमत र अल्पमत नहुने उनको भनाइ छ ।

सांसद तथा नेकपाका केन्द्रीय सदस्य मनकुमारी केसीकी आमा हरिकला खत्रीको निधन भएको नवौँ दिनको पुण्य तिथिमा उनकै निवास बागलुङ नगरपालिका वडा नम्बर ३ गुठीमा नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटीले आयोजना गरेको श्रद्धाञ्जलिसभामा मुख्यमन्त्री गुरुङले यस्तो धारणा राखेका हुन् । उनले दुई अध्यक्ष मिलेर जाने र आम पार्टी कार्यकर्ताले समर्थन गर्नुको विकल्प नरहेको भन्दै निजी स्वार्थका लागि अनावश्यक मनमुटाव गर्न नहुने बताए । ‘पार्टी फुटेमा आगामी चुनावमा जनता माझ के भनेर जाने एकपटक सबैले सोचौँ’, गुरुङले भने, ‘जिल्ला तहमा समेत गुट उपगुटको बैठक भएको सुन्छु, यस्तो कामले व्यक्तिलाई फाइदा होला, पार्टी र राष्ट्रलाई घाटा हुन्छ ।’

खत्रीको ७७ वर्षको उमेरमा निवासमै निधन भएको थियो ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु