१४ फाल्गुन २०७७, शुक्रबार

कोरोना बीमा : १७ हजार बढीको कागजात पूरा, मंसिर पछि नियमित भुक्तानी हुने



२५ मंसिर, काठमाडौं । कोरोना बीमामा बीमकले रकम नपाएको भन्दै गुनासो आएपछि सरकारको निर्देशनअनुसार नै बीमा समितिले थप सहजीकरण गरिरहेको छ । समितिले आज पछिल्लो विवरणबारे जानकारी दिँदै बुधबारसम्म कूल १७ हजार २३५ बराबरको दाबीमा कागजात पूरा भएको जनाएको छ । यस्तै भेरीफिकेशनका लागि स्वास्थ्य सेवा विभागमा चार हजार १५२ दाबी पठाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट भेरिफिकेशन भएर आएका सङ्ख्या भने दुई हजार ४९३ रहेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना बीमामा व्यापक गुनासो आएपछि दुईपटक समितिलाई सहजीकरणका लागि निर्देशन दिएका थिए ।

दाबी भुक्तानीमा आठ हजार १४५ रहेका छन् भने कागजात पूरा भई भुक्तानी गर्न बाँकी सङ्ख्या भने नौ हजार ९० रहेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । उनका अनुसार कागजात नपुगी पुनःनिर्जीवन बीमा कम्पनीमा फिर्ता भएको दाबी सङ्ख्या भने एक हजार १३६ रहेको छ । समितिका अनुसार बीमालेख खरिद गरेका बीमितले दाबी भुक्तानीका लागि कोरोना बीमा मापदण्ड, २०७७ ले तोकेको सम्पूर्ण कागजातसहित सम्बन्धित बीमा कम्पनीमा निवेदन दिनुपर्ने र सम्बन्धित बीमा कम्पनीले सबै कागजात पूरा भए÷नभएको यकीन गर्ने व्यवस्था गरिएको छ ।

यस्तै कोरोना महामारीका कारण सबैभन्दा बढी असोज र कात्तिकमा प्रभावित भएको र सो समयमा बीमा कम्पनीमा कार्यरत कर्मचारी एवम् बीमा समितिमा कार्यरत कर्मचारीमा समेत सङ्क्रमण देखिएकाले दाबी भुक्तानी प्रक्रिया अवरुद्ध हुन पुगेको थियो । उक्त अवधिको दाबी भुक्तानीका लागि मङ्सिर महिनामा सबैभन्दा बढी चाप परेको छ ।

यो चाप कम भएपछि नियमित तवरले भुक्तानी हुने समितिले जनाएको छ । कोरोना बीमाको दायित्व बीमा समिति र नेपाल सरकारकोे भएकाले यसको लेखा परीक्षण महालेखाले गर्ने गर्छ । तसर्थ, बीमा मापदण्डअनुसार कतिपय स्पष्ट नभएका कोरोना परीक्षण रिपोर्ट नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा भेरिफिकेशनका लागि पठाउनुपर्दा समय लाग्न गएको कार्यकारी निर्देशक पौडेलको भनाइ छ । समितिले बीमा पुल व्यवस्थापक शिखर इन्स्योरेन्समा स्थलगत निरीक्षण गरेको र समस्या तथा समाधानका उपायसमेत पत्ता लगाएका कारण थप सहज हुने उल्लेख गरेको छ ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु