२० जेष्ठ २०८०, शनिबार

कर्णालीको छोरी श्रुतीले जितिन् अन्तर्राष्ट्रिय लिफ्टिङमा स्वर्ण पदक



२४ मंसिर, सुर्खेत । भारतको मुम्बईमा आयोजित २१ औं अन्तर्राष्ट्रिय पावर लिफ्टिङ प्रतियोगिता–२०२० मा कर्णालीकी छोरी श्रुती कार्कीले स्वर्ण जितेकी छन् । ५५ केजी तौल समूहमा उनले भारत पूणेकी मनिकर्णा रायलाई हराउँदै स्वर्ण जितेकी हुन् ।

सोमबार साँझ सम्पन्न फाइनल प्रतिस्प्रर्धामा कार्कीले ओभरलमा २५५ केजी तौल उचालेकी थिइन् भने रायले १७६ केजी उचालेकी थिइन् । कार्कीको समूहमा ११ जनाबीच प्रतिस्पर्धा भएको थियो । विकासका धेरै जसो मापनमा पछाडि परेको कर्णाली प्रदेशबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई देशको लागि स्वर्ण पदक जित्दा थप ऊर्जा मिलेको श्रुतीले बताइन् ।

बडी बिल्डिङ संघबाट छनौंट भएर प्रतियोगितामा पुगेकी कार्कीले सरकारको तर्फबाट भने कुनै सहयोग प्राप्त गरेकी छैनन । उनी सुर्खेतको वीरेन्द्रगर स्थित मिडवेस्टर्न फिटनेस क्लवको आर्थिक सहयोगमा प्रतियोगितामा सहभागी भएकी हुन् ।

क्लवका सञ्चालक प्रमोद हमालले भने, ‘कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले मंसिर १४ गते कार्कीलाई विदाइ गर्दै स्वर्ण जितेमा २ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका थिए । यो घोषणाबाहेक कार्कीलाई सरकारका तर्फबाट कुनै किसिमको सहयोग भएको छैन, राष्ट्रिय खेलकुद परिषद्ले पनि सहयोग गरेन ।’ हमालले राष्ट्रको लागि स्वर्ण जित्ने खेलाडीलाई उचित सम्मान होला भन्ने आशा र विश्वास गरेको बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको