चक्रपथ विस्तारमा बुद्धको हजार मूर्ति स्तूप भत्किँदैन : पूर्वाधार मन्त्री नेम्वाङ
२३ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौं चक्रपथ विस्तारको क्रममा विश्व सम्पदा क्षेत्रभित्रका बुद्धको मूर्ति स्तूप नहटाइने बताएका छन् । स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔँ अभियानको ज्ञापनपत्र बुझ्दै मन्त्री नेम्वाङले सम्पदाको संरक्षण गरिने स्पष्ट पारेका हुन् ।
उनले सडक विस्तारका क्रममा कम्तीमा पनि स्वयम्भू क्षेत्रमा रहेको भगवान बुद्धको हजार मूर्ति र स्तूप जोगाउनुपर्छ भन्ने बुझाइ प्रष्ट भएको बताए । उनले भने, ‘हाम्रो आवश्यक डिजाइन, सडक निर्माणको मापदण्ड, पुरातत्व विभाग र युनेस्कोको प्रावधानका परिधिमा रहेर हजार मूर्तिको स्तूप जोगाउनुपर्छ भन्ने प्रष्ट भएको छ ।’
प्राविधिक रूपमा सम्भव भएसम्म स्वयम्भू क्षेत्रका अरु सम्पदा पनि जोगाइने मन्त्री नेम्वाङले बताए । सरकार विभिन्न समुदायको संस्कृति संरक्षणमा मात्र नभएर नयाँ चरणमा विकास गर्न लागिपरेको उनको भनाइ छ । नेम्वाङले भने, ‘नयाँ संविधानबाट बनेको यो सरकार नयाँ मुलुक निर्माणमा अघि बढेको छ र मुलुुकको चौतर्फी विकास गर्न चाहन्छ ।’
मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले स्वयम्भू जस्ता सम्पदा सरकारले नै विश्वसम्पदा सूचीमा सूचीकृत गराएकाले त्यसको संरक्षण पनि सरकारको नै जिम्मेवारी भएको बताए । स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔँ अभियानका संयोजक नुर्बु शेर्पाले आफ्नो अभियानमा सरकार सकारात्मक भएको भन्दै विकासको काम पनि नरोकिने र सम्पदा पनि जोगाउने पक्षमा जानुपर्ने बताए ।
कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, तत्कालीन संविधानसभाका सभासद् पासाङ शेर्पा र सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पनि सम्पदाको संरक्षण गर्दै विकासलाई अघि बढाउनेमा जोड दिए ।
काठमाडौं चक्रपथ पहिलो चरणमा कोटेश्वर–कलङ्की विस्तार गरेको चीन सरकारले नै दोस्रो खण्ड विस्तारको तयारी अघि बढाएको छ । सडक विस्तारका लागि ११ दशमलव ६ किलोमीटर लम्बाइको कलङ्कीदेखि धोबीखोला सडक निर्माणस्थल खाली गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
(रासस)