१९ फाल्गुन २०७७, बुधबार

शिक्षक प्रतिकारमा मारिए भन्दै विप्लव समूहले जारी गर्यो विज्ञप्ति



२३ मंसिर, काठमाडौं । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी नेत्रविक्रम चन्द ‘विप्लव समूहले लिएको छ । समूहको मेचि-कोषी ब्युरोले आजै विज्ञप्ति जारी गर्दै आफ्नो सङ्गठनका गतिविधिबारे लामो समयदेखि सुराकी गर्दै आएका श्रेष्ठ प्रतिकारमा मारिएको दाबी गरेको छ ।

स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई विप्लव समूहले अपहरण गरी मंगलबार बिहान नजिकैको बर्खे जंगलमा घाँटी रेटी हत्या गरेको थियो । समूहले श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेको र प्रतिकारमा मृत्यु भएको विज्ञप्तिमार्फत बताएको छ ।

तर, प्रत्यक्षदर्शीले भने विप्लव समूहका ६ जना कार्यकर्ताले उनलाई घरैबाट बाँधेर अपहरण गरी लगेको बताएका छन् ।

श्रेष्ठले २०७६ फागुन २६ गते पार्टीको मेची–कोसी ब्युरो बैठकमा प्रहरी बोलाएर ‘दमन गराएको’
र सच्चिन पटक–पटक चेतावनी दिँदा नसुध्रिएको समूहले बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अपरेसन सञ्चालन गराएका थिए । २०७७ कात्तिक १२ गते ब्युरो इञ्चार्ज बसेको ठाउँमा प्रहरी अपरेसन गराएर ब्युरो सदस्य काशीराम घिमिरे र विज्ञान राईलाई गिरफ्तार गराएका थिए ।’

श्रेष्ठले जनताका घरमा पटक–पटक प्रहरी पठाएर आफ्ना नेता–कार्यकर्तालाई खान–बस्न दिए तातो गोली खान्छौ भन्दै आतंकित पारेको विज्ञप्तिमा उल्लेख गरिएको छ । पटक–पटक सम्झाउदा पनि आफनो समूहका विरूद्ध निरन्तर उग्र गतिविधीमा सक्रीय श्रेष्ठ हतियार लिएर प्रतिकारमा उत्रिदा उनको मृत्यु भएको दाबी गरिएको छ ।

विज्ञप्ति पढ्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु