११ मंसिर २०७८, शनिबार

सुर्खेतमा १४ सहित कर्णालीमा ४९ नयाँ कुष्ठरोगी भेटीए



२२ मंसिर, काठमाडौं । कर्णाली प्रदेशमा ४९ जना नयाँ कुष्ठरोगी पत्ता लागेका छन् । साइनिङ अस्पताल, आइएनएफ नेपाल सुर्खेतले आज पत्रकार सम्मेलन गरी ४९ नयाँ कुष्ठरोगी पत्ता लागेको तथ्याङ्क सार्वजनिक गरेको हो ।

आर्थिक वर्ष २०७६/७७ मा कर्णाली प्रदेशका विभिन्न जिल्लामा गरी ४९ जना कुष्ठरोगका बिरामी पत्ता लागेको अस्पतालका व्यवस्थापक मङ्गल थारूले बताए । उनका अनुसार नयाँ भेटिएका कुष्ठरोगीमा सबैभन्दा धेरै सुर्खेतका १४ जना रहेका छन् भने जाजरकोट १३, दैलेख ९, कालीकोट ६, सल्यान २, जुम्ला एक र अन्य जिल्लाका चारजना छन् ।

नयाँ कुष्ठरोगका बिरामीमध्ये १५–५९ वर्ष उमेर समूहका ३९ जना, ६० वर्ष नाघेका ६ र एकदेखि १४ वर्ष उमेर समूहका ४ जना छन् । उनीहरू अधिकांशको शरीरमा घाउ भेटिन्छ । व्यवस्थापक थारूले कुष्ठरोगको निदानबारे प्रचारप्रसार तथा रोगी पत्ता लगाउन ती स्थानहरूमा घुम्ती शिविर जस्ता कार्यक्रमको विस्तार आवश्यक रहेको बताए । कोरोना महामारीका कारण यस वर्ष रोग जाँच गर्ने बिरामीको सङ्ख्या ह्वात्तै घटेको उनको भनाई थियो ।

कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट र कालीकोटसहित कुष्ठरोगका बिरामीको सङ्ख्याका आधारमा नेपालका १६ जिल्ला जोखिममा रहेको व्यवस्थापक थारूले बताए । यो रोगको लक्षण देखापरेमा तुरून्त स्वास्थ्य कार्यकर्तालाई देखाई बेलैमा नियमित उपचार गराउन सकेमा र नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्णरुपले निको भएर अपाङ्गता हुनबाट बच्न सकिने अस्पतालले जनाएको छ ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको