प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, समसामयिक विषयमा छलफल हुने
२२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् । समसमायिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।
प्रेस सल्लाहकार थापाले ट्वीटरमा लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आयोजना गर्नुभएको छ । बिहान ११ः ०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा उक्त बैठक हुने तय भएको छ ।’
पछिल्लो केहि साता यता देशका विभिन्न जिल्लामा राजसंस्था र हिन्दु राष्ट्रका पक्षमा एकपछि अर्को प्रदर्शन भइरहेका छन् । त्यसमाथि सत्तारुढ दल नेकपाकै विवाद थप ओझिलो बनिरहेका बेला प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् ।
भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि गत बैशाख ३१ मा प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच सर्वदलीय बैठक बोलाएका थिए । त्यसयता भोली बोलाइएको पहिलो सर्वदलीय बैठक हो ।