हुम्लामा ११ जना सुरक्षाकर्मीलाई कोरोना पुष्टि
समर हुम्ली
२१ मंसिर, काठमाडौं । हुम्लामा पुनः ११ जना सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको छ । केही दिन अघि सिमकोट विमानस्थलका कार्यरत एक जना महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो । उनको सम्पर्कमा आएका अन्य सुरक्षाकर्मीहरूलाई कन्टयाक्ट ट्रेसिंगका क्रममा स्वाव सङ्कलन गरी पीसीआर चेक गरिएको हो ।
योभन्दा अगाडि असोज ५ गते हुम्लामा पहिलो पटक कोरोना पोजेटिभ देखिएका ६७ जना निको भइसकेका छन् । आइतबार ११ जना सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि हाल सक्रीय कोरोना बिरामी पनि ११ जना भएको स्वास्थ्य सेवा कार्यालय हुम्ला स्रोतले जनाएको छ ।
१२ जना सुरक्षाकर्मीको स्वाव सङ्कलन गरी चेकजाँच गर्दा ११ जनामा पोजेटिभ र एक जनामा नेगेटिभ देखिएको छ । निको भइसकेका ६७ सहित हालसम्म हुम्लामा कोरोना सङ्क्रमित हुनेको संख्या ७८ पुगेको छ ।
केही स्थानीय तहहरूले पुनः विद्यालय सञ्चालन गर्ने तयारी गरिरहेको अवस्थामा यति धेरैलाई कोरोना पोजेटिभ देखिएपछि विद्यालय सञ्चालन गर्न पुनः अन्योलता देखिएको छ । यो नतिजाले हुम्लामा समुदायस्तरमै कोरोनाको लक्षण देखिए पनि स्थानीय तह, स्वास्थ्य सेवा कार्यालय र स्थानीय प्रशासनले गम्भीरता नदेखाएको स्वास्थ्य जानकारहरू बताउछन् ।
अझै हिउँदको तीन चार महिना अधिकांस समय माइनस् डिग्री तापक्रम हुने समयमा कोरोना महामारीले हुम्लीहरुलाई सताउने चिन्ता र आशंका गरेका छन् ।