१९ जेष्ठ २०८०, शुक्रबार

मिस नेपाल २०२० को उपाधि नम्रता श्रेष्ठलाई



२० मंसिर, काठमाडौं । मिस नेपाल–२०२० को ताज नम्रता श्रेष्ठले पहिरिएकी छिन् । हिडेन ट्रेजरले आज आयोजना गरेको प्रतियोगितामा २१ जनालाई उछिन्दै काठमाडौंकी २२ वर्षीया श्रेष्ठ ताज पहिरिन सफल भएकी हुन् ।

उनलाई मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठले ताज पहिर्याइन् । मिस नेपाल श्रेष्ठले नगद दुई लाख ५० हजारसहित कार्यालय प्रयोजनका लागि गाडी समेत पाएकी छिन् । मिस नेपाल श्रेष्ठ चीनमा हुने मिस वल्र्ड प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुनेछिन् । प्रतियोगितामा मिस नेपाल अर्थ काठमाडौंकी २४ वर्षीया सुप्रिया श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल महोत्तरीकी २४ वर्षीया सन्ध्या शर्मा र मिस सुपरनेशनल उपाधि काठमाडौंकी २४ वर्षीया सिमल कनौजियाले प्राप्त गरेकी छिन् । उनीहरू तीनै जनालाई पुरस्कारस्वरूप नगद रु दुई लाख ५० हजार प्रदान गरिएको छ ।

नेपालमा सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता शुरु भएको थियो । नेपालको पहिलो मिस नेपाल रुवी राणा हुन् । आज गरिएको प्रतियोगिता २५औँ हो । सन् १९९४ देखि लगातार हुँदै आएको प्रतियोगिता सन् २००१, सन् २००६ र सन् २००८ मा विविध कारणले हुनसकेको थिएन ।

हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले कोरोना भाइरसका कारणले प्रतियोगिता केही ढिला हुन गएको बताएका छन् । उनले तीन हप्ताको भर्चुअल तालीम र दुई हप्ताको भौतिक उपस्थितिमा प्रतियोगीलाई तालीम प्रदान गरिएको जानकारी दिए । प्रतियोगितामा २५० जनाले आवेदन दिए पनि २१ जनालाई मात्र छनोट गरिएको थियो ।

यस्तै प्रतियोगितामा मिस टुरिज्मको उपाधि रिया श्रेष्ठ, मिस फिटनेस सुभाङ्गी खत्री, मिस फोटोजेनेटिक आस्टिका श्रेष्ठ, मिस हेल्दी निहा सरकारलगायतलाई ११ प्रकारका उपाधिसमेत दिइएको थियो । ती पुरस्कारको राशि रु. २५ हजार रहेको छ ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको